🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूतपूर्व सैनिकको मन दुखाउने आर्मी हस्पिटल : थाइराइड जाँच माग्दा झर्को जवाफ !

श्रीमान् प्रधानसेनापतिज्यू,
जङ्गी अड्डा, काठमाडौं।
मार्फत : साँघु न्यूजडटकम

विषय : नेपालगञ्ज आर्मी हस्पिटलमा भूतपूर्व सैनिकले भोगेको व्यवहारबारे गुनासो तथा सुधारका लागि विनम्र अनुरोध।

महोदय,

सादर नमस्कार।

म नेपाली सेनामा लामो समय सेवा गरी अवकाश प्राप्त एक भूतपूर्व सैनिक हुँ। जीवनका ऊर्जाशील वर्षहरू राष्ट्र, सेना र जनताको सेवामा बिताएर आज हामी भूतपूर्व सैनिकहरू उमेर, स्वास्थ्य र पारिवारिक जिम्मेवारीको चरणमा पुगेका छौँ। सेवाकालमा हामीले अनुशासन, आदेश, कर्तव्य र संस्थाप्रतिको निष्ठालाई जीवनको मूल आधार बनायौँ। कठिन भूगोल, सीमित सुविधा, जोखिमपूर्ण ड्युटी र परिवारबाट टाढा बसेर पनि सेनाको मर्यादा र राष्ट्रको सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राख्यौँ।

तर अवकाशपछि जब हामी आफ्नै संस्थाबाट स्थापना गरिएका स्वास्थ्य सेवास्थलमा पुग्छौँ, त्यहाँ सम्मान, सहानुभूति र सहज सेवाको सट्टा उपेक्षा, झर्को र असहयोगको व्यवहार भोग्नुपर्दा मन असाध्यै दुःखित हुन्छ। यही पीडा र गुनासो राख्न यो पत्र लेख्न बाध्य भएको छु।

केही दिनअघि म सामान्य स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले नेपालगञ्जस्थित आर्मी हस्पिटल गएको थिएँ। म केही दिनपछि विदेश जानुपर्ने भएकाले यात्रा अघि एकपटक आफ्नो स्वास्थ्य अवस्था बुझ्न चाहन्थेँ। उमेर बढ्दै जाँदा शरीरमा विभिन्न समस्या देखिन सक्छन् भन्ने सोचेर मैले सम्बन्धित डाक्टर क्याप्टेन सा’बसँग विनम्रतापूर्वक अनुरोध गरेँ- “सर, म केही दिनपछि बाहिरी मुलुक जाँदैछु, मेरो एकपटक थाइराइड चेक गरिदिनुपर्‍यो हजुर।”

बिरामीले आफ्नो स्वास्थ्यबारे चिन्ता गर्नु स्वाभाविक कुरा हो। अझ विदेश यात्रा गर्नु अघि स्वास्थ्य जाँच गर्नु त सामान्य सतर्कता नै हो। तर मेरो अनुरोध सुनेपछि डाक्टर सा’बबाट पाएको जवाफले म स्तब्ध भएँ। उहाँले उल्टै “किन चेक गर्नुपर्‍यो ? तपाईंहरू खाली हामीलाई गाह्रो पार्नुहुन्छ” भन्ने आशयको जवाफ दिनुभयो। अझ माथिल्लो कमाण्डर डाक्टर सा’बले पनि यसै विषयमा असन्तुष्टि जनाउनुहुन्छ भन्ने ढंगको कुरा सुन्दा म झन् निराश भएँ।

मलाई अचम्म लाग्यो-बिरामीले आफूलाई आवश्यक लागेको परीक्षण गर्न अनुरोध गर्दा डाक्टरलाई किन टाउको दुखाइ हुनुपर्ने ? स्वास्थ्य परीक्षण माग्नु के अपराध हो ? एक भूतपूर्व सैनिकले आफ्नै सेनाको अस्पतालमा गएर “मलाई यो जाँच गरिदिनुहोस्” भन्नु अनुशासनहीनता हो कि स्वाभाविक अधिकार ? यदि बिरामीलाई आफ्नो समस्या राख्ने अधिकार छैन भने अस्पतालको अर्थ के रह्यो ? यदि सेवारत वा भूतपूर्व सैनिकले आफ्नै संस्थाको स्वास्थ्य सेवामा विश्वास गरेर जान र स्वास्थ्य जाँच गर्न नपाउने हो भने हामीले सेवा गरेको संस्थाप्रतिको भावनात्मक सम्बन्ध कहाँ रह्यो ?

त्यहाँको व्यवहारबाट मन खिन्न भएपछि म नेपालगञ्ज आर्मी हस्पिटलमा जाँच नगरी सिभिल अस्पतालमा गएर थाइराइड परीक्षण गराउन बाध्य भएँ। सिभिल अस्पतालमा पैसा तिर्नुपर्‍यो, समय खर्च भयो । त्यसपछि मेराे मनमा बारम्बार एउटै प्रश्न उठिरह्यो-नेपाली सेनाका सकल दर्जा, भूतपूर्व सैनिक र तिनका परिवारका लागि स्थापना गरिएको अस्पताल के साँच्चै सबैकाे सेवाका लागि हो ? कि डाक्टरहरूले जागिर खाने, यो सुविधा र सेवा केवल ठूला बडा, पहुँच भएका र माथिल्लो तहका व्यक्तिका लागि मात्रै हो ?

हामी भूतपूर्व सैनिकहरूको पीडा यही हो। सेवामा हुँदा साना दर्जाका सैनिकले सबैभन्दा धेरै दुःख गर्छन्। ड्युटीमा अगाडि उभिन्छन्। पहाड, तराई, सीमा, जंगल, ब्यारेक, युद्धभूमि, अप्रेसन र जोखिममा खटिन्छन्। आदेश पालना गर्छन्। आवाज उठाउँदैनन्। जीवनभर अनुशासन सिक्छन्। तर अवकाशपछि तिनै सैनिकहरू उपचारका लागि सैनिक अस्पताल जाँदा, कागज बोकेर कार्यालय धाउँदा, औषधि सुविधा लिन लाइन बस्दा, आफूलाई आफ्नै संस्थामा पराया जस्तो महसुस गर्नुपर्ने अवस्था आउँछ।

हामीलाई विशेष सुविधा चाहिएको होइन। ठूला बडासरह विलासी व्यवस्था मागिएको पनि होइन। हामीले केवल सम्मानजनक व्यवहार, बिरामीको कुरा सुन्ने धैर्य, आवश्यक परीक्षणका लागि सहज प्रक्रिया र संस्थाले दिने सेवामा समान पहुँच मागेका हौँ। नेपाली सेनाको पहिचान अनुशासन, मर्यादा र मानवीय संवेदनासँग जोडिएको छ। त्यसैले सेनाको अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीबाट कम्तीमा बिरामीप्रति नम्रता, जिम्मेवारी र सेवाभाव अपेक्षा गर्नु अस्वाभाविक होइन।

आज धेरै भूतपूर्व सैनिकहरू यस्तै गुनासो बोकेर बसेका छन्। कतिपय बोल्दैनन्, किनकि उनीहरू अझै पनि “सेनाबारे गुनासो गर्नु हुँदैन” भन्ने पुरानो मानसिकतामा बाँधिएका छन्। कतिपय बोल्न चाहेर पनि सुनुवाइ हुँदैन भन्ने ठान्छन्। कतिपयले आफ्नै खर्चमा निजी अस्पताल धाउँछन्। तर मनभित्र भने गहिरो चोट लिएर बाँचिरहेका छन्। “सेवाकालमा हाम्रो पसिना चाहियो, अवकाशपछि हाम्रो पीडा कसले सुन्ने ?” भन्ने प्रश्न धेरै भूतपूर्व सैनिकहरूको मनमा छ।

सेनाका अस्पतालहरू केवल भवन, बेड, उपकरण र पदधारी चिकित्सकको संरचना मात्र होइनन्। ती संस्थाहरू पूर्व तथा वर्तमान सैनिकहरूको भरोसाका केन्द्र हुन्। त्यहाँ पुग्ने बिरामी औपचारिक सेवाग्राही मात्र होइन, सेनाको इतिहास, योगदान र बलिदान बोकेको व्यक्ति पनि हो। त्यसैले भूतपूर्व सैनिक अस्पतालको ढोकामा पुग्दा उसले अपमान होइन, अपनत्व महसुस गर्न पाउनुपर्छ।

श्रीमान् प्रधानसेनापतिज्यू, नेपालगञ्ज आर्मी हस्पिटललगायत सैनिक स्वास्थ्य संस्थाहरूमा भूतपूर्व सैनिक, तल्लो दर्जाका सैनिक तथा तिनका परिवारले सहज, सम्मानजनक र पारदर्शी सेवा पाउने व्यवस्था मिलाइदिन हार्दिक अनुरोध गर्दछु। बिरामीले आवश्यक ठानेको परीक्षणका विषयमा चिकित्सकले उचित परामर्श दिन सक्छन्, तर झर्को, उपेक्षा वा हप्कीदप्कीको शैलीमा व्यवहार गर्नु स्वीकार्य हुनु हुँदैन।

यदि कुनै परीक्षण आवश्यक छैन भने त्यसको कारण सभ्य भाषामा बुझाइयोस्। यदि आवश्यक छ भने सहज रूपमा गरियोस्। बिरामीलाई अनावश्यक बोझ वा अपमान महसुस गराइने वातावरण हटाइयोस्।

त्यसका लागि अस्पतालमा भूतपूर्व सैनिक सहायता कक्षलाई प्रभावकारी बनाउन, सेवाग्राही गुनासो सुन्ने छुट्टै संयन्त्र बनाउन, चिकित्सक तथा कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहारसम्बन्धी निर्देशन दिन, साना दर्जा र भूतपूर्व सैनिकका लागि प्राथमिकता तथा सहजीकरणको व्यवस्था गर्न, अनि अस्पताल सेवामा “पहुँच भएकालाई मात्रै सुविधा” भन्ने भावना हटाउन जरुरी देखिन्छ।

हामी भूतपूर्व सैनिकहरू अझै पनि नेपाली सेनालाई आफ्नो घर ठान्छौँ। सेनाको इज्जतमा हाम्रो इज्जत जोडिएको छ। सेनाको मर्यादा कमजोर होस् भन्ने चाहना हाम्रो कहिल्यै हुन सक्दैन। तर संस्थाभित्र रहेका कमजोरी देखेर पनि मौन बस्नु पनि संस्थाप्रतिको इमानदारी होइन। सुधारको अपेक्षासहित राखिएको गुनासोलाई असन्तुष्टि होइन, संस्थाप्रतिको माया र जिम्मेवारीका रूपमा बुझिदिनुहुन विनम्र अनुरोध गर्दछु।

अन्त्यमा, नेपालगञ्ज आर्मी हस्पिटलमा मैले भोगेको घटना एउटा व्यक्तिको मात्र पीडा होइन, धेरै भूतपूर्व सैनिकले मनमा दबाएर राखेको सामूहिक पीडाको प्रतिनिधि घटना हो भन्ने मेरो बुझाइ छ। नेपाली सेनाले आफ्नो इतिहास निर्माण गर्ने साना दर्जाका सैनिक र भूतपूर्व सैनिकहरूको सम्मान, स्वास्थ्य सुरक्षा र मानवीय व्यवहारलाई प्राथमिकतामा राख्नेछ भन्ने विश्वास लिएको छु।

भूतपूर्व सैनिकको सेवा, पसिना र त्यागलाई सम्झिएर सैनिक अस्पतालहरूलाई साँच्चै सैनिकमैत्री, भूतपूर्व सैनिकमैत्री र मानवीय बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।

धन्यवाद।

भवदीय,
Rana RC
एक भूतपूर्व सैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *