काठमाडौं । Citizens Bank International Limited र Rapid बीच एपीआई बैंकिङ सेवासम्बन्धी सहकार्य भएको छ । यस सहकार्यसँगै अब सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले आफ्नै ईआरपी (ERP) वा सफ्टवेयर प्रणालीबाटै विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्ने भएका छन् ।
बैंकका अनुसार ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, बैंक स्टेटमेन्ट डाउनलोड गर्न, भविष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा कर्मचारीको तलब वितरण गर्न छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । यसका लागि सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको हो ।
‘र्यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस (BaaS) मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । अब ग्राहकले एउटै प्लेटफर्म प्रयोग गरी आफ्नै सफ्टवेयरमार्फत बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् ।
प्रयोगकर्ताले “Connect with API Banking” विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस सहकार्यले कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्रै मोबाइल बैंकिङसरहको फाराम भर्नुपर्नेछ । त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
र्यापिडले ग्राहकको ‘कन्सेन्ट’ प्रक्रिया समेत डिजिटल बनाएको छ, जसले सेवा प्रयोगलाई अझ सहज र पारदर्शी बनाउने बैंकको विश्वास छ । साथै, एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकाले डिजिटल कारोबार सुरक्षित हुने दाबी गरिएको छ ।
बैंकले एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
सिटिजन्स बैंकले पछिल्लो समय विभिन्न डिजिटल बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । साथै, नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा”, फ्रिलान्सरलाई लक्षित “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” लगायत सेवा सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ । उक्त सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।
हाल Citizens Bank International Limited ले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख २६ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




