काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल को नेतृत्वमा नेपाली सेनाले लागू गर्न लागेको “सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३” ले नेपाली सेनाको सांगठनिक संरचना, बढुवा प्रणाली तथा पदोन्नति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको पाइएको छ। विशेषगरी सुवेदार तथा प्रमुख सुवेदार तहका सैनिक कर्मचारीका लागि यो संशोधनलाई निकै अर्थपूर्ण र दूरगामी मानिएको छ।

प्राप्त विवरणअनुसार नयाँ नियमावलीले लामो समयदेखि नेपाली सेनाभित्र उठ्दै आएको “दरबन्दी रिक्त नभएकै कारण बढुवा अवरुद्ध हुने” समस्या समाधान गर्ने प्रयास गरेको देखिन्छ। यसअघि प्रमुख सुवेदारहरू धेरै वर्ष एउटै पदमा रोकिन बाध्य हुने, समयमै पदोन्नति नपाई अवकाशमा जाने तथा नेपाली सेनाकाे अधिकृत तहमा सीमित दरबन्दी र अवसर मात्रै रहने अवस्था थियो। संशोधित नियमावलीले भने सहायक सेनानी तथा उपसेनानी तहसम्म बढुवाको संरचनागत ढाँचा परिवर्तन गरेर अवसरको दायरा बढाएको छ।
प्रमुख सुवेदारका लागि किन महत्वपूर्ण ?
नेपाली सेनाभित्र सबैभन्दा धेरै अपेक्षा प्रमुख सुवेदार तहमा देखिएको छ। सैनिक वृत्तभित्रका जानकारहरूका अनुसार अब विभिन्न ट्रेड, युनिट, विभाग तथा सेवाहरूमा सहायक सेनानी र उपसेनानी तहमा बढुवाका अवसर विस्तार हुने भएकाले प्रमुख सुवेदारहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।
यसअघि सीमित दरबन्दीका कारण धेरै प्रमुख सुवेदारहरूले लामो समय एउटै तहमा बिताएर अवकासमा जानु पर्ने अवस्था थियो। कतिपयले बढुवा नपाइकनै अवकाश लिनुपर्ने गुनासो समेत गर्दै आएका थिए।
तर अब “सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३” लागू भएपछि विभिन्न ट्रेडकाे रिक्त सहायक सेनानी र उपसेनानी तहमा बढुवाका अवसर विस्तार हुने छ । यस नयाँ व्यवस्थाले बढुवाको चक्र तीव्र हुने, रिक्त पद छिटो पूर्ति हुने तथा कार्यसम्पादन र योग्यताका आधारमा प्रमुख सुवेदारहरूकाे पदोन्नति सम्भावना बढ्ने अपेक्षा गरिएको छ।
तालिम र कार्यसम्पादनलाई प्राथमिकता
संशोधित नियमावलीमा तालिम, योग्यता र कार्यसम्पादन मूल्यांकनलाई समेत बढी महत्व दिइएको देखिन्छ। “सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३” मा उल्लेख भएअनुसार तालिमको नतिजा तथा “मिलिटरी एकेडेमीबाट अधिकृत क्याडेट कोर्स” पूरा गरेका अधिकृतहरूको योग्यताक्रमलाई बढुवासँग जोडिएको छ।
यसले भविष्यमा “मेरिट बेस्ड प्रमोशन सिस्टम” लाई बल पुग्ने सैनिक अधिकारीहरूको भनाइ छ।
संगठनभित्र सकारात्मक सन्देश
नेपाली सेनाको संगठनभित्र यो संशोधनलाई “व्यवहारिक अध्ययनपछि गरिएको सुधार” का रूपमा हेरिएको छ। लामो समयदेखि बढुवा प्रक्रियामा देखिएको जटिलता, ढिलासुस्ती र सीमित अवसरको आलोचना भइरहेका बेला नेपाली सेनाकाे नेतृत्वले संगठनात्मक पुनर्संरचना र पदोन्नति व्यवस्थामा सुधार ल्याएर संगठनलाई चलायमान बनाउन खोजेको संकेत देखिएको छ।
“सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३”ले विशेषगरी मध्यम तहका सैनिक कर्मचारीमा उत्साह थपिने तथा संगठनभित्र प्रतिस्पर्धात्मक र कार्यसम्पादनमुखी संस्कृति विकास हुने अपेक्षा गरिएको छ।
सैनिक वृत्तका अनुसार यो “सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८३”मा भएकाे संशोधनकाे व्यवस्थाले निकट भविष्यमा नेपाली सेनाको प्रशासनिक संरचना, कमाण्ड व्यवस्थापन र मानव स्रोत सञ्चालन प्रणालीमा समेत राम्राे प्रभाव पार्ने देखिएको छ।



