पोखरा, १८ जेठ । सैनिक आवासीय महाविद्यालय पोखराले आफ्ना दुई अनुभवी शिक्षाकर्मीलाई सम्मानसहित विदाइ गरेको छ। महाविद्यालयका पूर्व भाइस प्रिन्सिपल जयराम कायस्थ तथा गणित शिक्षक पूर्णबहादुर क्षेत्रीको सम्मानमा विशेष विदाइ कार्यक्रम आयोजना गरिएको हो।
महाविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रिन्सिपल डोलराज श्रेष्ठ र निमित्त व्यवस्थापक अधिकृत सेनानी सुरज रिमालले खादा तथा दोसल्ला ओढाएर उहाँहरूलाई सम्मानपूर्वक विदाइ गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रिन्सिपल श्रेष्ठले महाविद्यालयको शैक्षिक विकास, अनुशासन र संस्थागत उन्नयनमा उहाँहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले लामो समयसम्म गरेको समर्पित सेवाप्रति कृतज्ञता व्यक्त गर्दै महाविद्यालयले उहाँहरूको योगदान सधैँ स्मरण गरिरहने धारणा राख्नुभयो।
कार्यक्रममा शिक्षक टि.जी.टी. भोलाभद्र वाग्लेले पनि विदाइ हुने शिक्षाकर्मीहरूको व्यावसायिक दक्षता, विद्यार्थीप्रतिको समर्पण र संस्थाप्रतिको निष्ठाबारे चर्चा गर्नुभएको थियो। उहाँले शिक्षण क्षेत्रमा उहाँहरूले पुर्याएको योगदान नयाँ पुस्ताका शिक्षकका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।
विदाइ कार्यक्रममा पूर्व भाइस प्रिन्सिपल जयराम कायस्थले महाविद्यालयसँग जोडिएका आफ्ना अनुभवहरू स्मरण गर्दै सैनिक आवासीय महाविद्यालय आफ्नो जीवनको महत्वपूर्ण अध्याय भएको बताउनुभयो। उहाँले संस्थाले दिएको माया, सम्मान र सहकार्यप्रति आभार व्यक्त गर्दै आफू सदैव महाविद्यालयसँग भावनात्मक रूपमा जोडिइरहने धारणा राख्नुभयो।
महाविद्यालयले विदाइ गरिएका दुवै व्यक्तित्वको आगामी जीवन सफल, सुखद र प्रगतिमय रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो।




