सान फ्रान्सिस्को । अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले २०२६ मे २९ मा रिचमण्ड सिटीस्थित नेपाली कम्युनिटी सेन्टरमा “International Everest Day 2026” भव्य रूपमा आयोजना गरेको छ। “विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव” भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको सुरुवात नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट गरिएको थियो। उहाँले सगरमाथा नेपालको राष्ट्रिय गौरव, विश्व पर्यटनको प्रतीक तथा नेपाली पहिचानको अन्तर्राष्ट्रिय चिनारी भएको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै सान फ्रान्सिस्कोका लागि नेपालका महावाणिज्यदूत लक्ष्मण खनालले एभरेस्ट डेको महत्वबारे प्रकाश पार्नुभयो। नेपालका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको चर्चा गर्दै उहाँले सहभागीहरूलाई आगामी भ्रमण गन्तव्यका रूपमा नेपाल रोज्न आग्रह गर्नुभयो।
महावाणिज्यदूत खनालले मार्च २०२६ मा नेपालमा सुशासन र आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएर बलियो जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै लगानीमैत्री नीति सुधार तथा प्रोत्साहनका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिनुभयो। उहाँले विशेषगरी पूर्वाधार, पर्यटन, सेवा क्षेत्र तथा सूचना प्रविधि (IT) उद्योगमा नेपाल उदीयमान लगानी बजारका रूपमा विकसित भइरहेको बताउँदै सहभागीहरूलाई आफ्ना व्यवसायिक सञ्जालमार्फत नेपालमा लगानीको सम्भावना अध्ययन गर्न आग्रह गर्नुभयो।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गत सान फ्रान्सिस्कोस्थित Office of the Foreign Mission का क्षेत्रीय निर्देशक John Y. Choi ले सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक अवसरको स्मरण गर्दै नेपाल र नेपाली समुदायलाई बधाई दिनुभयो। उहाँले नेपाल–अमेरिका सम्बन्ध पछिल्ला वर्षहरूमा अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सम्पर्क विस्तार भएको बताउनुभयो।
त्यसैगरी क्यालिफोर्नियाका उप-गभर्नरका वैदेशिक मामिला सल्लाहकार Evan Reade ले क्यालिफोर्निया र नेपालबीच बढ्दो सम्बन्धबारे चर्चा गर्नुभयो। उहाँले नेपाललाई हिमालयको प्रवेशद्वार तथा अवसर र कल्पनाको भूमि भन्दै व्यापार, पर्यटन, शिक्षा तथा वातावरणीय संरक्षणजस्ता क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको बताउनुभयो। कार्यक्रमका क्रममा नेपालका सबै आठ हजार मिटरभन्दा अग्ला हिमालहरूबारे तयार गरिएको विशेष भिडियो पनि प्रदर्शन गरिएको थियो।
रिचमण्ड सिटीका मेयर Eduardo Martinez ले नेपालका लागि मात्र नभई विश्वकै महत्वपूर्ण अवसरको उत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले रिचमण्ड सिटीमा बसोबास गर्ने नेपाली समुदायले शहरको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो।
हर्कुलस सिटीका निर्वाचित काउन्सिल सदस्य दिली भट्टराईले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले ७३ वर्षअघि गरेको पहिलो सफल आरोहण मानव सभ्यताका लागि प्रेरणादायी बनेको बताउनुभयो।
युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीकी अनुसन्धानकर्ता सुश्री नीमा शेर्पाले एभरेस्ट क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावसम्बन्धी आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभयो।
कार्यक्रममा बे एरियामा बसोबास गर्ने चार जना एभरेस्ट आरोहीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। पाँच पटक सगरमाथा आरोहण गरिसक्नुभएका ल्हाक्पा नोर्बु शेर्पाले आफ्नो आरोहण अनुभव सुनाउँदै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको बताउनुभयो।
त्यस्तै मेघा शर्माले एभरेस्ट बेस क्याम्प यात्राको अविस्मरणीय अनुभव सुनाउँदै सहभागीहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नुभयो। University of California, Davis की प्राध्यापक तथा पूर्व Peace Corps स्वयंसेवक डा. Faith Boucher ले नेपाल र नेपाली जनतासँगको आफ्नो अनुभवलाई “अद्भुत” भन्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा सरकारी अधिकारी, सान फ्रान्सिस्को कन्सुलर कोरका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, University of California Davis, Berkeley, Stanford University तथा University of San Francisco का प्राध्यापक एवं अनुसन्धानकर्ता, नेपाली उद्यमी, विद्वान तथा बे एरिया र स्याक्रामेन्टोस्थित नेपाली समुदायका प्रतिनिधिसहित ७० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।




