सम्मानीय प्रधानमन्त्रीज्यू, प्रधानसेनापतिज्यू,
गणतन्त्र दिवस २०८३ को मूल समारोहमा देशको सम्मानका लागि कडा घाममा घण्टौँसम्म अडिग उभिएका एक जवान बेहोस भए। उहाँ अहिले उपचार र चेकजाँचमा हुनुहुन्छ। तर यो घटना केवल एक जवानको बेहोस हुनु मात्र होइन, यो राष्ट्रको सुरक्षाका लागि आफ्नो शरीर, पसिना र स्वास्थ्यसमेत अर्पण गर्ने हजारौँ सुरक्षाकर्मीको मौन पीडा हो ।
राष्ट्रपति, प्रधानमन्त्री र उच्च पदमा बसेका सम्माननीय व्यक्तिहरूले त्यो तातो घाममा एक जवान ढलेको दृश्य अवश्य देख्नुभयो होला। तर त्यो जवान केवल एउटा व्यक्ति थिएनन्, त्यो त राष्ट्रको कर्तव्यप्रति समर्पित एउटा सपना थियो, एउटा परिवारको भरोसा थियो, देशको सुरक्षामा उभिएको एउटा निःशब्द त्याग थियो।
जनताले ताली बजाउँदा जवानहरूले पसिना बगाउँछन्, देश उत्सव मनाउँदा जवानहरूले आफ्नो स्वास्थ्य बिर्सिन्छन्, र जब जवान ढल्छ, तब राष्ट्रले एकछिन भए पनि सोच्नुपर्छ—देश बचाउनेहरूलाई आखिर कसले बचाउने ?
गणतन्त्र केवल भाषणले बलियो हुँदैन, त्यो त घाममा जल्ने, चिसोमा काँप्ने र सीमामा निःशब्द उभिने जवानहरूको त्यागले बलियो हुन्छ । आज त्यहाँ बेहोस भएको जवानप्रति सम्मान मात्रै होइन, सम्पूर्ण सुरक्षाकर्मीको पीडा र समर्पणप्रति राज्यले उत्तर दिनुपर्ने दिन पनि हो । –
– Dil Magar




