प्रिय नेपाली जनताहरू,
इतिहासका हरेक मोडमा नेपाली जनताले स्वतन्त्रता, अधिकार र सम्मानका लागि ठूलो त्याग, संघर्ष र बलिदान गरेका छन्। राणा शासनको अन्त्यदेखि प्रजातन्त्र, जनआन्दोलन हुँदै गणतन्त्र स्थापनासम्म आइपुग्दा हजारौँ ज्ञात–अज्ञात सहिदको रगत र जनताको सपना मिसिएको छ।
तर आज प्रश्न उठेको छ– गणतन्त्र साँच्चै जनताको तन्त्र बन्यो कि केही नेता र सीमित वर्गको मनतन्त्र मात्रै?
व्यवस्था फेरियो, संविधान फेरियो, शासक फेरिए, तर गाउँघरका जनताको पीडा, बेरोजगारी, अभाव र बाध्यता किन उस्तै छन्? युवाहरू आज पनि विदेशिन बाध्य छन्, किसान दुःखी छन्, विद्यार्थी अन्योलमा छन्, गरिब नागरिक आधारभूत आवश्यकता पूरा गर्न संघर्षरत छन्।
गणतन्त्र केवल शासन परिवर्तनको नाम होइन। यसको अर्थ जनताको सम्मान, अवसर, न्याय, आत्मसम्मान र समृद्धि हो। जनताको बलिदानबाट आएको व्यवस्था जनताकै पक्षमा चल्नुपर्छ, सीमित स्वार्थ समूहको पक्षमा होइन।
अब निराश भएर बस्ने समय होइन। सही नेतृत्व छान्ने, गलतलाई गलत भन्ने र देशप्रति जिम्मेवार नागरिक बन्ने समय हो। गणतन्त्रलाई कागजको व्यवस्था होइन, जनताको सुखतन्त्र बनाउने जिम्मेवारी हामी सबैको हो।
यस्तो नेपाल बनोस्, जहाँ कुनै नेपालीले गरिबी र बाध्यताका कारण अपमानित हुन नपरोस्। जहाँ हरेक नागरिकले गर्वका साथ भन्न सकोस्– “म नेपाली हुँ।”
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गणतन्त्र दिवसको हार्दिक शुभकामना।
– एक सचेत नेपाली नागरिक




