🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“प्रधानसेनापतिज्यू, सैनिक अस्पतालमा उपचार खोज्दा अपमान र निराशा मात्र पाइन्छ !”

नेपालगञ्ज सैनिक अस्पतालबाट हैरान एक सैनिक परिवारको खुला चिठी....!

सम्माननीय प्रधानसेनापतिज्यू, जंगी अड्डा, काठमाडाैं । 
मार्फत साँघु न्यूज डटकम

म नेपाली सेनासँग जोडिएको एउटा सामान्य परिवारको सदस्य हुँ। यो चिठी कुनै राजनीतिक आग्रहले होइन, पीडाले लेख्न बाध्य भएको हुँ। नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचारका लागि पुगेपछि हामीले भोगेको दुःख, अपमान र निराशाले अब मौन बस्न नसकिने अवस्था आएको छ।

सैनिक कल्याणकारी कोषको नाम धेरै सुनिन्छ। अरबौँ रुपैयाँको कोष भएको चर्चा पनि हुन्छ। तर, त्यो कोष आखिर कसका लागि हो ? हामीजस्ता नेपाली सेनाका तल्लो दर्जाका सैनिक र तिनका परिवारका लागि होइन र ? यदि हो भने स्वास्थ्य उपकरणहरू नभएर नेपालगञ्ज सैनिक अस्पतालको अवस्था यति दयनीय किन बन्न गएकाे छ ?

अस्पतालमा नामका मात्र सेवा छन्, व्यवहारमा अधिकांश डाक्टर भेटिँदैनन्। कतिपय विशेषज्ञ चिकित्सक हप्तामा एक दिन मात्रै आउने सूचना टाँसिएको छ। कसैले सोमबार मात्रै हेर्ने, कसैले बुधबार मात्रै हेर्ने ! बिरामीले रोग लिएर कुन बार पर्खिने ? पीडा पनि बार हेरेर आउने हो र ?

अस्पतालको सूचनापाटीमा न्युरो–साइ, छाला तथा यौन रोग, बालरोग, नाक–कान–घाँटी लगायतका सेवा उल्लेख छन्। तर, वास्तविकता भने फरक छ। बिरामी अस्पताल पुग्दा “डाक्टर बाहिर हुनुहुन्छ”, “आज आउनु भएको छैन”, “काठमाडौं जानुभएको छ” भन्ने जवाफ बारम्बार सुनिन्छ।

सबैभन्दा पीडादायी कुरा त के भने, यति ठूलो सैनिक अस्पतालमा न एमआरआई मेसिन छ, न डायलाइसिस सेवा छ। गम्भीर बिरामीलाई निजी अस्पताल धाउनुपर्ने बाध्यता छ। सैनिक अस्पतालमा उपचार सम्भव नभएपछि निजी अस्पतालमा लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आउँछ। अनि सैनिक कल्याणकारी कोषको औचित्य के रह्यो ?

हामीले सुनेका छौँ-उच्च तहका सैनिक अधिकारी, ठूलाबडाका परिवार र पहुँचवालाले सहज उपचार पाउँछन्। तर, एउटा साधारण सिपाही वा हवल्दारको परिवार उपचार खोज्दै अस्पतालको ढोकामा रुँदै बार र डाक्टर कुरेर फर्किनुपर्ने अवस्था किन ?

प्रधानसेनापतिज्यू,
छात्रवृत्तिको विषयमा पनि गुनासो कम छैन। सैनिकका छोराछोरीका लागि भनिएको छात्रवृत्ति सीमित व्यक्तिमा मात्रै किन पुग्छ ? किन एक–दुई जनामा मात्र अवसर सीमित हुन्छ ? के सानो दर्जाका सैनिकका सन्तानले राम्रो शिक्षा पाउने अधिकार राख्दैनन् ?

देशका लागि जीवन अर्पण गर्न तयार हुने सैनिकको परिवारले उपचार नपाएर पीडा भोग्नुपर्दा त्यो केवल एउटा परिवारको दुःख होइन, समग्र संगठनप्रतिको विश्वास कमजोर हुने विषय हो।

नेपालको सीमा जोगाउने, ज्यानकाे जाेखिम माेलेर विपद् मा खटिने, रातदिन ड्युटी गर्ने सैनिकको परिवार अस्पतालको बेथिति देखेर निराश हुनु कति दुःखद कुरा हो !

प्रधानसेनापतिज्यू,
नेपालगञ्ज सैनिक अस्पतालको वास्तविक अवस्था बुझ्न एकपटक जंगी अड्डाबाट पूर्वसूचना बिना गाेप्य रूपमा निरीक्षण गरियोस्। बिरामी सैनिकका पीडा र तिनका परिवारसँग प्रत्यक्ष कुरा गरियोस्। अस्पतालमा भएका उपकरण, जनशक्ति र सेवा कागजमा मात्र छन् कि व्यवहारमा पनि छन् भन्ने जंगी अड्डाबाटै तत्कालै छानबिन होस्।
सम्माननीय प्रधानसेनापतिज्यू,
हामी सैनिकलाई विलासिता चाहिएको होइन।
उपचारमा सहजता र समान व्यवहार चाहिएको हो।
सम्मानजनक उपचार चाहिएको हो।
र, सैनिक कल्याणकारी कोष वास्तवमै सैनिककै हितमा खर्च भएको देख्न चाहेको हो।

-केशवराज ओली
नेपालगञ्ज सैनिक अस्पतालबाट हैरान भएकाहरूको आवाज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *