श्रीमान् सम्पादकज्यू,
साँघु न्यूज डटकम
म नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारीकी श्रीमती ममता बम अधिकारी हुँ। मेरो श्रीमान् मधु अधिकारीले बाराकी प्रतिमा खरेलसँग पहिले नै विवाह गरिसक्नुभएको अवस्थामा पनि २०६३ सालमा धनगढीमा कार्यरत रहँदा मलाई मायाजालमा पारी कैलालीस्थित घोडाघोडी मन्दिरमा सिन्दूर हालेर दोस्रो धर्मपत्नीका रूपमा विवाह गर्नुभएको थियो। हाल हामीबाट पर्वत अधिकारी र रिदम अधिकारी नामका दुई छोरा छन्, उनीहरूको उमेर क्रमशः १८ र १२ वर्ष रहेको छ।
तर, पछिल्ला वर्षहरूमा मेरा श्रीमान् मधु अधिकारीको अन्य महिलासँग हिमचिम बढ्दै गएपछि उहाँले विगत तीन वर्षदेखि पारिवारिक जिम्मेवारी पूरा गर्नुभएको छैन। हाल उहाँ रेश्मा क्षेत्री नामकी महिलासँग हात्तीगौंडास्थित घरमा बस्दै आएको जानकारी मैले पाएकी छु। ती महिला पूर्व सैनिक कर्मचारी तथा डिभोर्सी भएको बुझिएको छ। २०८१ माघ महिनातिर उनीहरूबीच गोप्य रूपमा विवाह भएको समेत जानकारी प्राप्त भएको छ।
यो विषय थाहा पाएपछि मैले २०८२ जेठ महिनामा न्यायको माग गर्दै नेपाली सेनाको कानून विभागमा निवेदन दिन खोजेकी थिएँ। तर, मेरो निवेदन दर्ता नै हुन नदिई पेन्डिङमा राखिएको र उल्टै मधु अधिकारीले मसँग सम्बन्धविच्छेदको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको छ।
त्यसपछि मैले नेपाल सरकारद्वारा सञ्चालित ‘हेलो सरकार’मार्फत २०८२।१०।२४ गते निवेदन दिएकी थिएँ। मेरो निवेदनको टिकट नम्बर HS-WEB-103021-AQ हो। उक्त निवेदन प्रधानसेनापतिको कार्यालयमार्फत सैनिक शिकायत निर्देशनालयमा सत्यतथ्य बुझ्न पठाइएको रहेछ।
नेपाली सेनाकाे सैनिक शिकायत निर्देशनालयमा कार्यरत सेनानी अनिमा खड्का र प्रमुख राणा थरका सा’बहरूले मलाई बोलाएर सोधपुछ गर्नुभयो। तर, मलाई मेरो कुरा राम्रोसँग राख्न दिनुभएन, जबकि मेरो श्रीमान् मधु अधिकारीलाई भने सबै कुरा राख्न दिइयो। यसले मलाई निष्पक्ष छानबिन भएको अनुभूति हुन सकेनर मैले न्याय पनि पाउन सकिन ।
मैले नेपाली सेनाकाे सैनिक शिकायत निर्देशनालय प्रमाणका रूपमा भिडियो, अडियो, टिकटक सामग्री, ह्वाट्सएप च्याट, फोटो तथा अन्य विवरणहरू पेनड्राइभमा संकलन गरी बुझाएकी थिएँ। करिब ५० भन्दा बढी प्रमाण बुझाउँदा पनि ती प्रमाणको गम्भीर रूपमा अध्ययन गरेर मलाई न्याय नगरिएको मेरो गुनासो हाे। हाल उक्त कार्यालयबाट “मधु अधिकारीविरुद्ध पर्याप्त प्रमाण भेटिएन, कारबाही गर्न मिल्दैन” भन्ने जानकारी फोनमार्फत मलाई दिइएको छ।
प्रश्न उठ्छ-मैले बुझाएका विवाह दर्ताकाे प्रतिलिपि, भिडियो, अडियो, च्याट र अन्य प्रमाणहरूको छानबिन नगरी प्रमाण पुगेन भन्न मिल्छ ? उहाँसँग विभिन्न एनटीसी र एनसेलका सिमकार्डहरू रहेको प्रमाण पनि मसँग छ। साथै, उहाँ र कथित कान्छी श्रीमती मिलेर म्यानपावर व्यवसाय सञ्चालन गरिरहेको प्रमाण पनि मसँग सुरक्षित छ।
म निष्पक्ष छानबिन चाहन्छु। यदि मैले कुनै झुठाे विवरण दिएकाे, गल्ती गरेको प्रमाणित हुन्छ भने म त्यसलाई सहर्ष स्वीकार गर्न तयार छु। तर, मैले दिएका प्रमाणलाई बेवास्ता गरी शक्ति र पहुँचका आधारमा एकतर्फी रूपमा मेरो निवेदन कमजोर बनाउने प्रयास गरिएको अनुभूति भएको छ।
मैले सम्माननीय प्रधानसेनापति अशाेकराज सिंग्देलज्यू, नेपाली सेनामाथि भरोसा गरेर न्याय मागेकी हुँ। तर, श्रीमान् मधु अधिकारीलाई उल्टै प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभित गरिएको खबर सुन्दा मलाई अत्यन्त पीडा भएको छ। श्रीमती र छोराहरूको भविष्य अन्योलमा पार्ने व्यक्तिलाई सम्मानित गर्नु कति उचित हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।
मेराे निवेदनमाथि सम्पूर्ण छानबिन गरेर मलाई सैनिककाे श्रीमती हाेइन, छाेराहरू पनि लेखा सु.क. मधु अधिकारीका हाेइनन् भने प्रमाणित गरिदिनु पर्याे, हाेइन भने सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारीले श्रीमान र पिताकाे जिम्मेवारी र दायित्व पूरा गर्नु पर्याे भन्ने मेराे माग हाे ।
सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारीबाट म श्रीमती ममता पति/पिता मधुले मेरा दुई छोराको वर्तमान तथा भविष्यमा गम्भीर असर परेकाे बारेमा न्याय दिनै पर्याे। मेरा श्रीमान् मधु अधिकारीका कारण हामी मानसिक, आर्थिक र सामाजिक पीडामा परेका छौं। त्यसैले म सम्माननीय प्रधानसेनापति अशाेकराज सिंग्देलज्यूबाट निष्पक्ष छानबिनका लागि आदेश/निर्देशन हाेस् ।
छानबिन निष्पक्ष होस् भन्नका लागि सर्वप्रथम मधु अधिकारीलाई हाल कार्यरत कार्यालयबाट अलग गरी निष्पक्ष अनुसन्धान गरियोस् भन्ने मेरो विनम्र अनुरोध छ। आवश्यक परेको खण्डमा मैले सुरक्षित राखेका थप प्रमाणहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार छु।
अन्त्यमा, मेरो पीडा, गुनासो र प्रमाणको निष्पक्ष मूल्यांकन गरी मलाई र मेरा छोराहरूलाई न्याय दिलाइदिन सम्बन्धित निकाय तथा सम्पादकज्यूमार्फत सार्वजनिक ध्यानाकर्षण गराउन चाहन्छु।
निवेदक
ममता बम अधिकारी
सम्पर्क नं. : ९७६८७९९४३४
मिति : २०८३।०२।०८




