काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै जापान र अमेरिका पठाइदिने बहानामा उनीहरूले लाखौं रुपैयाँ ठगी गरेका थिए। पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान गर्दै प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीय राजकुमार तामाङ रहेका छन्। उनले जापान पठाइदिने भन्दै एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
त्यस्तै, दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने ३१ वर्षीय प्रकाश केसी पक्राउ परेका छन्। उनले अमेरिका पठाइदिने भन्दै दुई जनाबाट ९३ लाख रुपैयाँ असुलेको प्रहरीको आरोप छ।
यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३३ वर्षीय डिल्लीराम तामाङ पनि पक्राउ परेका छन्। उनले जापान पठाइदिने भन्दै दुई जनाबाट १४ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




