सियोल, २३ वैशाख (रासस\एएफपी): पूर्व प्रथम महिलासम्बन्धी उच्च–प्रोफाइल मुद्दामा जेल सजाय दोब्बरभन्दा बढी गर्ने निर्णय गरेका दक्षिण कोरियाली न्यायाधीश मृत अवस्थामा फेला परेका छन् । घटनाले न्यायिक वृत्तमा चासो र चिन्ता दुवै बढाएको छ ।
प्रहरीका अनुसार सिन जोङ–ओ सियोल उच्च अदालत भवनभित्र २०८३ वैशाख २२ गते मङ्गलबार राति करिब १ः०० बजे (१६०० जिएमटी) बेहोस अवस्थामा फेला पर्नुभएको थियो ।
सेओचो जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीले उहाँलाई तुरुन्त अस्पताल लगिएको र त्यहाँ मृत घोषित गरिएको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा कुनै पनि बाह्य हस्तक्षेप वा आपराधिक गतिविधिको सङ्केत नदेखिएको प्रहरीले जनाएको छ ।
यद्यपि केही स्थानीय मिडियाले न्यायाधीशले आत्महत्याको नोट छोडेको दाबी गरे पनि अनुसन्धान अधिकारीले भने त्यस्तो कुनै नोट फेला नपरेको स्पष्ट पारेका छन् । घटनाको विस्तृत कारणबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।




