विराटनगर, वैशाख २३ गते : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित क्षेत्रबाट लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बरको एम्बुलेन्ससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख २२ गते मंगलबार अपराह्न नियमित चेकजाँचका क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्स रोकी जाँच गर्दा प्लास्टिकका बोरामा लुकाएर राखिएको १४८ किलोग्राम गाँजा बरामद गरेको हो।
बरामदसँगै प्रहरीले एम्बुलेन्सका चालक भारतको बिहार राज्य, सुपोल निवासी धर्मेन्द्र कुमार यादव र सवारीमा सवार मो. सदामलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




