सिद्धार्थनगर (भैरहवा), २३ वैशाख : रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा नियन्त्रणमा लिइएको जनाएको छ ।
यस्तै जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरि–२३ का ५० वर्षीय जीवन थापा, देवदह–१ का ३१ वर्षीय प्रकाश गुप्ता, देवदह–५ का ३२ वर्षीय सुनारी मगर, सुद्दोधन–६ का ४२ वर्षीय नेत्र पौडेल, कोटहीमाई–३ का ३२ वर्षीय अब्दुल कलाम जोलाहा, सिद्धार्थनगर–१ का २८ वर्षीय ओमप्रकाश शर्मा, तिलोत्तमा–१५ का ४४ वर्षीय शिव पाण्डे, ललितपुर महानगरपालिका–५ का ५० वर्षीय बाबुराजा महर्जन, सैनामैना–४ का ३४ वर्षीय रोहन विक भनिने तिल बहादुर विक, वीरगञ्ज–७ का ४४ वर्षीय जंगकुमार अग्रवाल, मायादेवी–७ का २८ वर्षीय निरज गुप्ता, मायादेवी–७ का २१ वर्षीय सुज जखवाला, मायादेवी–७ का २८ वर्षीय रमेश यादव, तिलोत्तमा–६ का ३६ वर्षीय निर्मल बराल र सैनामैना–४ का ३० वर्षीय भरत थापा रहेका छन्।
पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ । उहाँका अनुसार घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ । पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




