काठमाडौं, २०८३ वैशाख २२ गते । नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य घटाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटप्रेमी दर्शकको उल्लेख्य भीड लागेको छ।
क्यान स्रोतका अनुसार यसअघि ४ सय रुपैयाँ तोकिएको टिकट मूल्य घटाएर २ सय रुपैयाँ कायम गरिएपछि दर्शकको उपस्थिति बढेको हो। टिकट सस्तो भएपछि युवा, विद्यार्थी तथा क्रिकेट समर्थकहरू ठूलो संख्यामा मैदान पुगेका छन्।
मैदानमा नेपाली टोलीलाई समर्थन गर्न राष्ट्रिय झण्डा, जर्सी र ब्यानरसहित दर्शकहरू उपस्थित भएका थिए। दर्शकको उत्साहका कारण टीयू मैदानको वातावरण थप रोमाञ्चक बनेको देखिएको छ।
क्यानले टिकट मूल्य घटाउने निर्णयले क्रिकेटप्रेमीलाई मैदानमै पुगेर खेल हेर्न सहज बनाएको जनाएको छ। पछिल्लो समय नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण बढिरहेका बेला टिकट मूल्य घट्दा मैदानमा उपस्थिति अझ बढेको क्यान स्रोतको भनाइ छ।
टीयू मैदानमा देखिएको दर्शकको भीडले नेपाली क्रिकेटप्रतिको जनचासो र समर्थन बलियो रहेको सन्देश दिएको छ।




