काभ्रे, बैशाख २२ गते । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह ह्वात्तै बढेपछि काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने क्षेत्रमा सडक कटान भई पूर्ण रूपमा अवरुद्ध हुँदा खोलामै फसेका यात्रुहरूलाई संयुक्त सुरक्षा टोलीले मध्यरातमा सकुशल उद्धार गरेको छ।


साँझ करिब ६ बजेतिर पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका पाँच वटा इभी हाईस-बा ४ ख ५२६१, बा ४ ख ६३५५, बा ५ ख ३१५८, बाग्मती प्रदेश ०१-००६ ख ७५९६ र बाग्मती प्रदेश ०८-००१ ख ००७७-अचानक बढेको पानीका कारण खोलामा फसेका थिए। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट उद्धार टोली तत्काल खटिएको थियो।
प्रारम्भिक प्रयासमा ‘रोप रेस्क्यु’ सम्भव नभएपछि थप सशक्त टोली परिचालन गरिएको थियो। त्यसपछि नेपाली सेना र नेपाल प्रहरी सँगको समन्वयमा नं. १६ गण सिन्धुपाल्चोक तथा पनौतीस्थित अस्थायी मनसुन प्रतिकार्य बेसबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली घटनास्थल पुगे। उनीहरूले ¥याफ्ट बोर्डको सहायताले ‘रिभर क्रसिङ’ विधिबाट ६ जना बालबालिकासहित ३५ महिला र ४८ पुरुष गरी जम्मा ८९ जनाको सफलतापूर्वक उद्धार गरेका हुन्।
उद्धार कार्य कठिन परिस्थितिमा राति नै सञ्चालन गरिएको थियो। तीव्र बहाव, अँध्यारो र सडक कटानका कारण जोखिम उच्च भए पनि सुरक्षाकर्मीको समन्वित प्रयासले सबै यात्रु सुरक्षित निकाल्न सम्भव भएको हो। हाल सवारी साधनहरू भने घटनास्थलमै रहेको जनाइएको छ।
यसैबीच, काभ्रेकै धुलिखेल नगरपालिका–५ बनेपा–खड्पु भित्री सडक खण्डमा Lin International English Boarding School को बस फसेको सूचनापछि पनौतीस्थित अस्थायी मनसुन प्रतिकार्य बेसबाट खटिएको सशस्त्र प्रहरी टोलीले ३० जना विद्यार्थी र ५ जना शिक्षक गरी ३५ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापा ले जानकारी दिएका छन्।
मनसुनको जोखिम बढ्दै
स्थानीय प्रशासनले वर्षायाम सुरु भएसँगै नदी–खोलामा आकस्मिक बहाव बढ्ने जोखिम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी रातिको यात्रा, खोलामा पानीको सतह बढेको अवस्थामा सवारी चलाउने तथा वैकल्पिक मार्गबिना जोखिमपूर्ण यात्रा नगर्न चेतावनी दिइएको छ।
उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीको तत्परता र समन्वयले ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।




