काठमाडौँ । विपद् व्यवस्थापनमा सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘अभ्यास हातेमालो’को आठौँ संस्करण सुरु भएको छ।

२०८२ वैशाख २१ गते युद्धकार्य महानिर्देशक उपरथी अनुप जङ्ग थापाले अभ्यासको शुभारम्भ गर्नुभएको हो। नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा सञ्चालन भएको अभ्यासमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिता रहेको छ।
मनसुनका समयमा हुन सक्ने सम्भावित बाढी र पहिरोको परिदृश्यमा आधारित अभ्यास तीन दिनसम्म सञ्चालन हुनेछ। अभ्यासमार्फत विपद् पूर्वतयारी, प्रतिकार्य योजना, सूचना आदानप्रदान र उद्धार समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश तहबाट ‘अभ्यास हातेमालो–१’ सुरु गरेको थियो। त्यसयता जङ्गी अड्डामा वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो अभ्यासलाई क्रमशः प्रादेशिक र जिल्ला स्तरसम्म विस्तार गर्ने योजना रहेको सेनाले जनाएको छ।
शुभारम्भ कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो।




