काठमाडौँ, २०८३ वैशाख २१ गते सोमबार। काठमाडौँ महानगरपालिका वडा नं. ६ ले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। नवनिर्मित भवनको कार्यवाहक प्रमुख डंगोल र वडाध्यक्ष भुवन लामाले संयुक्त रूपमा समुद्घाटन गर्नुभयो।
समुद्घाटनका क्रममा वडाध्यक्ष लामाले पूर्व वडाध्यक्ष दीपेन्द्र लामालाई घर नम्बर प्रदान गर्दै नयाँ भवनबाट सेवा प्रारम्भ भएको घोषणा गर्नुभयो। नयाँ भवन सञ्चालनमा आएसँगै वडाबाट प्रदान गरिने प्रशासनिक सेवा थप व्यवस्थित, सहज र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।
करिब १४ हजार वर्गफुट क्षेत्रफलमा निर्माण गरिएको भवनमा सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राखिएको छ। भवनको भूमिगत तलामा मोटरसाइकल र स्कुटरसहित करिब ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था छ। भूमिगत तलाको क्षेत्रफल १ हजार ५० वर्गफुट रहेको छ।
त्यस्तै, २ हजार ३५० वर्गफुट क्षेत्रफल रहेको जमिन तलामा ४ वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने व्यवस्था गरिएको छ। यो स्थानलाई सेवाग्राहीको प्रतीक्षालयका रूपमा समेत प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ।
नयाँ प्रशासनिक भवनबाट सेवा सुरु भएसँगै वडा कार्यालयको सेवा प्रवाह थप प्रभावकारी हुने वडाले विश्वास लिएको छ।




