काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । २०८३ वैशाख २० गते आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति अनावश्यक रूपमा सशंकित नहुन आग्रह गरेका हुन् ।
निजी क्षेत्रका प्रतिनिधिहरूले पछिल्लो समय व्यवसायीमाथि धरपकड बढेको, सम्पत्ति शुद्धीकरण र ठगीलगायतका मुद्दामा उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि व्यवसायिक वातावरण त्रसित बनेको गुनासो गरेका थिए । उनीहरूको चासो सुनेपछि लामिछानेले सरकार व्यवसायीलाई दुःख दिने पक्षमा नरहेको स्पष्ट पारे ।
‘निजी क्षेत्र सशंकित भएको, अलि डराएको जस्तो देखेर नै म तपाईंहरूसँग बस्न चाहेको हुँ । तपाईंहरू डराउनुपर्ने, आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौं,’ लामिछानेले भने ।
तर, केही व्यवसायी र पात्रहरूले देशको अर्थतन्त्रलाई नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने ढंगले गतिविधि गरिरहेको भन्दै लामिछानेले त्यस्ता प्रवृत्तिविरुद्ध सरकार निर्मम भएर लाग्नु परेको बताए । उनले आर्थिक अराजकता र सीमित व्यक्तिको प्रभावबाट मुलुकको अर्थतन्त्रलाई मुक्त गर्न सरकार पछि नहट्ने संकेत गरे ।
‘यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ । सरकारले अहिले यही गरेको हो,’ लामिछानेले भने, ‘धरपकडका विषयमा म तपाईंहरूलाई स्पष्ट भन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ ।’
लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले रास्वपाले त्यसको रोडम्याप बनाइसकेको दाबी गर्दै व्यवसायीहरूले समस्या समाधानका लागि नेता, मन्त्री, घर वा पार्टी कार्यालय धाउनुपर्ने पुरानो अभ्यास अन्त्य गरिने बताए ।
‘तपाईंहरूले मलाई, मेरो घरलाई वा पार्टी कार्यालयलाई देख्नुपर्दैन, टेक्नुपर्दैन । हामी तपाईंहरूको समस्या सहजै सम्बोधन गर्न चाहन्छौं,’ उनले भने, ‘पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला । तर, हामी तपाईंहरूलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसुस गराउन चाहन्छौं ।’
छलफलमा लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पारे । खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजिएको भन्दै उनले पुनर्स्थापनामा सरकार गम्भीर रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र शान्तिको क्षेत्र भएको भन्दै यसलाई सहज रूपमा काम गर्ने वातावरण दिन आग्रह गरे । हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्ने गरेको भन्दै उनले यस्तो प्रवृत्ति रोकिनुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रलाई समेटेर अघि बढे १०० अर्ब डलरको अर्थतन्त्र सम्भव रहेको धारणा राखे ।
कार्यक्रममा हरिभक्त शर्मा, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, आनन्दराज मुल्मी, सुरज वैद्य, पवन गोल्यान, अन्जनकुमार श्रेष्ठ, गौरव पाण्डे, जुना माथेमा, सशिकान्त अग्रवाल, बरुण चौधरीलगायत उद्योगी व्यवसायी सहभागी थिए ।




