काठमाडौँ, वैशाख २० गते । सशस्त्र प्रहरी बल नेपालका १३औँ नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको नेतृत्व सम्हाल्ने भएका छन्। गृह मन्त्रालयमा २०८३ वैशाख २१ गते साेमबार बिहान नाै बजे आयोजना हुने विशेष कार्यक्रममा उनलाई महानिरीक्षकको दर्ज्यानी चिह्न सुशोभन गरिने भएको छ।
गृह स्रोतका अनुसार, गृह सचिव राजकुमार श्रेष्ठबाट दर्ज्यानी चिह्न ग्रहण कार्यक्रम बिहान ९ बजेका लागि तय गरिएको छ। उक्त कार्यक्रमपछि पौडेलले औपचारिक रूपमा सशस्त्र प्रहरी बल नेपालको कमाण्ड सम्हाल्नेछन्।
नवनियुक्त महानिरीक्षक पौडेललाई संगठनभित्र निष्कलंक, व्यावसायिक, अनुशासित र सक्षम नेतृत्व क्षमता भएका अधिकारीका रूपमा चिनिन्छ। लामो समयदेखि सुरक्षा सेवामा आबद्ध रहँदै उनले विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको बताइन्छ। संगठनात्मक अनुशासन, सीमा सुरक्षा, आन्तरिक व्यवस्थापन र व्यावसायिक दक्षतालाई प्राथमिकतामा राख्ने अधिकारीका रूपमा महानिरीक्षक पाैडेलको छवि बनेको छ।
सशस्त्र प्रहरी बल नेपाल मुलुकको सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन, शान्ति सुरक्षा तथा राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील जिम्मेवारीमा सक्रिय सुरक्षा संगठन हो। यस्तो महत्वपूर्ण संगठनको नेतृत्वमा पौडेलको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पौडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपालले संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री सुरक्षा प्रणाली, सीमा सुरक्षाको प्रभावकारिता र सेवा प्रवाहमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय बदलिँदो सुरक्षा चुनौती, खुला सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, विपद् प्रतिकार्य र नागरिकमैत्री सुरक्षा सेवाको आवश्यकताले सशस्त्र प्रहरीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।
नवनियुक्त महानिरीक्षक पौडेलसामु संगठनको मनोबल उच्च राख्ने, व्यावसायिकता थप सुदृढ गर्ने, अनुशासन र पारदर्शिता कायम राख्ने तथा सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम र जनउत्तरदायी सुरक्षा संगठनका रूपमा अघि बढाउने प्रमुख चुनौती र अवसर दुवै रहेका छन्।
सुरक्षा क्षेत्रका जानकारहरू पौडेलको नेतृत्वबाट सशस्त्र प्रहरी बल नेपालमा संस्थागत मजबुती, कार्यसम्पादनमा चुस्तता र जनविश्वास वृद्धि हुने अपेक्षा गर्छन्। निष्कलंक छवि र व्यावसायिक कार्यशैलीका कारण उनको नेतृत्वकाललाई संगठन सुधार र उपलब्धिमूलक कार्यकालका रूपमा हेर्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका १३औँ महानिरीक्षकका रूपमा पौडेलको पदभार ग्रहणसँगै संगठनले नयाँ नेतृत्व पाउनेछ। राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन र विपद् प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपालले उनको नेतृत्वमा थप सुदृढ, सक्षम र प्रभावकारी यात्रा तय गर्ने अपेक्षा गरिएको छ।




