🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुराँसको बहारसँगै मुन्दुम ट्रेलमा बढ्यो पर्यटक आकर्षण

खोटाङ, २० वैशाखः नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्ये एक ‘मुन्दुम ट्रेल’ यतिबेला गुराँसले ढकमक्क बनेको छ। खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्ग वरपरका वन, पाखा र घाँसेमैदानमा रातो, सेतो, गुलाबी रङका लालीगुराँस, चिमाल तथा चाँप फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। एउटै क्षेत्रमा विभिन्न रङ र प्रजातिका गुराँस फुलेको दृश्यले यात्रुलाई मोहित बनाउने गरेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ओजनबाबु आचार्य, ‘हिँड्ने मान्छे’ उपनामले परिचित, हालै आफ्ना साथीहरूसहित मुन्दुम ट्रेलको चारदिने यात्रा पूरा गरेर फर्किनुभएको छ। उहाँको टोलीमा लालबहादुर मगर ‘एलबी’, सञ्जिव राई र सन्जित राई सहभागी थिए। टोलीले खिचेर सामाजिक सञ्जालमा राखेका गुराँसका तस्वीरले धेरै प्रकृतिप्रेमीलाई आकर्षित गरेको छ। फेसबुक र इन्स्टाग्राममा तस्वीर फैलिँदै गएपछि मुन्दुम ट्रेलमा गुराँस हेर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

आचार्यका अनुसार मुन्दुम ट्रेल प्रकृतिप्रेमीका लागि अनुपम उपहार हो। वसन्त ऋतुमा यहाँ गुराँसले घाँसेमैदानसम्म ढाकिन्छ भने शरद् ऋतुमा लेकाली फूलले क्षेत्रलाई सुन्दर बनाउँछ। अन्यत्र पाखामा मात्र गुराँस देखिए पनि यहाँ फराकिला मैदानमै ढकमक्क फुल्ने भएकाले दृश्य विशेष आकर्षक देखिन्छ। मैयुङ क्षेत्रका फाँटमा १८ प्रजातिका गुराँस पहिचान भइसकेको र थप अध्ययन जारी रहेको अनुसन्धानकर्ताले बताएका छन्।

मुन्दुम ट्रेल प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको संगम हो। यो मार्ग खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सीमावर्ती पूर्वीपहाडी क्षेत्रमा फैलिएको छ। टेम्केडाँडा हुँदै मैयुङ, साल्पापोखरी र सिलिचुङसम्म पुग्ने यो पदमार्ग पूरा गर्न विदेशी पर्यटकलाई करिब १३ दिन र नेपाली यात्रुलाई करिब १० दिन लाग्छ। किराँत समुदायको मौखिक ग्रन्थ ‘मुन्दुम’मा वर्णित जीवनशैली, संस्कार र संस्कृतिसँग सम्बन्धित भएकाले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो।

वसन्त सुरु भएसँगै स्थानीयले भेँडा, चौँरी र घोडा मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लैजान्छन्। मैयुङ, मेरुङ र धोद्रे क्षेत्रमा भेँडी चोक तथा चौँरी गोठ भेटिन्छन्। पर्यटकले चौँरीको दूध, स्थानीय परिकार, घोडचढी र गोठवासको अनुभव लिन पाउँछन्। गोठलाई स्तरोन्नति गरी गोठ–स्टेको व्यवस्था गरिएको छ, जहाँ फापर, कोदो, गहुँको ढिँडो, रायोको साग, आलु, सिमी, लोकल कुखुरा र चौँरीको दूधजस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ।

हाँसपोखरी क्षेत्रमा चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी र जङ्गली जनावर पनि पाइन्छन्। गुराँस, चाँप, कटुस, लोक्ता, जडीबुटी र घना जङ्गलले मुन्दुम ट्रेललाई अझ आकर्षक बनाएको छ। हिमाल, लेकाली फूल, फराकिला चौँरीखर्क र किराँती संस्कृति अनुभव गर्न चाहनेका लागि यो पदमार्ग वसन्तमा विशेष गन्तव्य बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *