काठमाडौँ, १८ वैशाख : विश्वशान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतम बुद्धको २५७०औँ जयन्ती आज देशभर श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदै छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने परम्परा छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण यही पावन तिथिमा परेको मानिन्छ। त्यसैले नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले यस दिनलाई अत्यन्तै श्रद्धा र भक्तिपूर्वक मनाउने गर्दछन्।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने कालजयी सन्देश दिनुभएका भगवान् गौतम बुद्धको योगदान विश्व मानव सभ्यताका लागि अमूल्य मानिन्छ। उहाँले करुणा, अहिंसा, सहिष्णुता, सद्भाव र मध्यम मार्गको शिक्षा दिँदै मानव जीवनलाई दुःखबाट मुक्त गर्ने मार्ग देखाउनुभएको थियो।
बुद्ध जयन्तीका अवसरमा आज लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्धलगायत देशका प्रमुख बौद्ध तीर्थस्थलमा विशेष पूजा, प्रार्थना, प्रवचन, दीप प्रज्वलन तथा शान्ति पदयात्रा आयोजना गरिँदै छ। चैत्य, गुम्बा, विहार र बौद्ध मठहरूमा लामा तथा धर्मगुरुहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजाआजा गरिन्छ।
इसापूर्व ५६३ मा रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रूपमा जन्मिनुभएका सिद्धार्थले मानव जीवनमा व्याप्त दुःख, पीडा, रोग, जरा र मृत्यु देखेपछि गहिरो चिन्तन गर्नुभयो।
मानव दुःखको कारण र त्यसबाट मुक्तिको उपाय खोज्ने उद्देश्यले उहाँले २९ वर्षको उमेरमा दरबार त्याग गरी तपस्याको मार्ग रोज्नुभयो। लामो साधना र ध्यानपछि उहाँले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र गौतम बुद्धका रूपमा संसारभर परिचित हुनुभयो।
बुद्धले दिनुभएको करुणा, शान्ति, समानता र अहिंसाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। बढ्दो द्वन्द्व, हिंसा र असहिष्णुताको समयमा बुद्धका उपदेशले मानव समाजलाई शान्ति, संयम र सहअस्तित्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिन्छ।
यस अवसरमा देशभरका बौद्ध धर्मावलम्बी मात्र नभई शान्ति, सद्भाव र मानवीय मूल्यमा आस्था राख्ने सबैले बुद्धप्रति श्रद्धा व्यक्त गर्दै बुद्ध जयन्ती मनाइरहेका छन्।




