🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमसीसी परियोजनामा नेपाल–अमेरिका साझेदारीको नयाँ चरण

धानखोला–लमही सडक स्तरोन्नति सुरु : 

काठमाडाैं/दाङ । एमसीसी नेपाल सम्झौताअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ। २०८३ वैशाख १६ गते दाङमा आयोजित कार्यक्रममा एमसीए–नेपाल, नेपाल सरकार र नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागितामा ४० किलोमिटर लामो धानखोला–लमही सडक स्तरोन्नति कार्यको शुभारम्भ गरिएको हो। एमसीए–नेपालले यो कार्यलाई एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भनेको छ।

एमसीसी नेपाल सम्झौताअन्तर्गत सञ्चालित यो सडक मर्मत आयोजना नेपालका लागि आधुनिक सडक प्रविधि प्रयोग गर्ने नमुना परियोजना मानिएको छ। एमसीए–नेपालका अनुसार यस सडकमा नेपालमै पहिलोपटक फुल डेप्थ रिक्लेमेसनसुपरपेभ प्रविधि प्रयोग गरिनेछ। पुरानो सडक सामग्रीलाई पुनः प्रयोग गर्दै बलियो, टिकाउ र वातावरणीय दृष्टिले कम असर पर्ने सडक सतह निर्माण गर्ने लक्ष्य राखिएको छ। स्तरोन्नतिपछि सडक १२ मिटर चौडा हुनेछ, जसमा ७ मिटरको मुख्य क्यारिजवे र दुवैतर्फ २.५/२.५ मिटरका सोल्डर रहनेछन्।

कार्यक्रममा कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले धानखोला–लमही सडक स्तरोन्नति नेपाल र अमेरिकाबीचको साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो। उहाँका अनुसार एमसीसी नेपाल कम्प्याक्टमार्फत गुणस्तरीय र टिकाउ पूर्वाधारमा गरिएको लगानीले यातायात लागत घटाउने, सडक सुरक्षा सुधार गर्ने र स्थानीय समुदायलाई बजार तथा अवसरसँग जोड्नेछ। उहाँले यस परियोजनालाई नेपालको भविष्यप्रतिको विश्वास र दिगो आर्थिक वृद्धिप्रतिको संयुक्त प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिबाट बन्ने यो सडक प्रदेश र यस राजमार्गमा निर्भर स्थानीय नागरिकका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो। उहाँले सडक स्तरोन्नतिले यात्रा सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान र उद्यमीका लागि नयाँ आर्थिक अवसर खोल्ने विश्वास व्यक्त गर्नुभएको छ।

एमसीए–नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट ७४ करोड ७० लाख अमेरिकी डलरको संयुक्त पूर्वाधार कार्यक्रम हो। यसमा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषबाट ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारबाट १९ करोड ७० लाख अमेरिकी डलर लगानी रहेको छ। कार्यक्रमअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना गरी दुई प्रमुख आयोजना सञ्चालनमा छन्।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा एमसीए–नेपाल बोर्ड सदस्य सुशीलबाबु ढकालले एमसीए–नेपालका लगानीहरू नेपाल सरकारका योजना र कार्यक्रमसँग पूरक हुने गरी अघि बढाइएको बताउनुभयो। उहाँले दिगो, बलियो र आर्थिक अवसर विस्तार गर्ने पूर्वाधार निर्माणमा यो सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै परियोजना समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गर्नुभएको छ।

एमसीसीका डेपुटी रेसिडेन्ट कन्ट्री डाइरेक्टर सञ्जय पौड्यालले धानखोला–लमही सडक स्तरोन्नति कार्यले नेपालको सडक पूर्वाधारमा दीर्घकालीन प्रदर्शन दिने उन्नत प्रविधि प्रयोग गर्ने अवसर सिर्जना गरेको बताउनुभयो। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले यो शुभारम्भ सडक मर्मत आयोजना कार्यान्वयनको महत्त्वपूर्ण चरण भएको बताउँदै परियोजना प्रभावकारी, पारदर्शी र उच्च गुणस्तरका साथ अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ।

सडक मर्मत आयोजनाले नेपालमा यातायात लागत घटाउने, सडकको अवस्था सुधार गर्ने, यात्रा समय घटाउने र पूर्वाधारको दीर्घकालीन गुणस्तर कायम गर्ने लक्ष्य राखेको छ। धानखोला–लमही खण्डको सफल कार्यान्वयनपछि यस्तै प्रविधि पूर्व–पश्चिम राजमार्गकै अन्य खण्डमा पनि विस्तार गर्न सकिने एमसीए–नेपालको योजना छ।

यस परियोजनाले एमसीसी सम्झौतामाथि वर्षौंदेखि चलिरहेको बहसबीच कार्यान्वयनको ठोस चरणमा प्रवेश गरेको सन्देश पनि दिएको छ। विद्युत् प्रसारण र सडक मर्मतका माध्यमबाट नेपालको व्यापार, यातायात, ऊर्जा पहुँच र आर्थिक गतिविधिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको यो सम्झौता अब कागजी प्रक्रियाबाट क्रमशः भौतिक निर्माणको चरणमा अघि बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *