काठमाडौं । नेपाली सेनाका तीनजना सहायक रथी डा. भरतबहादुर भण्डारी, माधव थापा र शक्तिजंग बस्नेतलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

२०८३ वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८३ वैशाख १६ गते नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहबीच प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बढुवा भएका तीनैजना अधिकृतलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, विभिन्न विभाग तथा निर्देशनालयका प्रमुख, वरिष्ठ सैनिक अधिकृतलगायतको उपस्थिति रहेको थियो। दर्ज्यानी चिन्ह प्रदानपछि प्रधानसेनापति सिग्देलले बढुवा भएका उपरथीहरूलाई बधाई दिँदै नयाँ जिम्मेवारीलाई अझ प्रभावकारी, अनुशासित र संस्थागत मर्यादाअनुसार निर्वाह गर्न निर्देशन दिएको सैनिक स्रोतले जनाएको छ।
सेनामा विशिष्ट श्रेणीकाे दुई तारे जर्नेल, उपरथी पदलाई अत्यन्त महत्वपूर्ण नेतृत्व तहका रूपमा लिइन्छ। यस दर्जामा पुगेका अधिकृतहरूले नेपाली सेनाका विभिन्न महत्त्वपूर्ण विभाग, प्रितना प्रमुख, निर्देशनालय, कमाण्ड तथा नीतिगत तहमा जिम्मेवारी सम्हाल्ने गर्छन्। बढुवासँगै डा. भरतबहादुर भण्डारी, माधव थापा र शक्तिजंग बस्नेतले नेपाली सेनाको उच्च नेतृत्व संरचनामा थप जिम्मेवारी बहन गर्ने भएका छन्।
मन्त्रिपरिषद्को निर्णयपछि दर्ज्यानी चिन्ह प्रदान गर्ने सैनिक परम्पराअनुसार जंगी अड्डामा औपचारिक कार्यक्रम आयोजना गरिएको हो। नेपाली सेनामा बढुवा भएका अधिकृतलाई प्रधानसेनापति वा सम्बन्धित उच्च अधिकृतबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ। यसलाई सैनिक मर्यादा, जिम्मेवारी हस्तान्तरण र कमाण्ड प्रणालीको महत्वपूर्ण औपचारिक प्रक्रिया मानिन्छ।
बढुवा भएका उपरथीहरूलाई सैनिक मुख्यालयका वरिष्ठ अधिकृतहरूले शुभकामना व्यक्त गरेका थिए। समारोहमा बढुवा पाउने अधिकृतहरूले संगठनप्रति निष्ठावान रहँदै राष्ट्र, संविधान र सैनिक मर्यादाप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
नेपाली सेनाले पछिल्ला वर्षहरूमा संगठनात्मक सुधार, व्यावसायिक दक्षता अभिवृद्धि, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा, पूर्वाधार निर्माण तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो भूमिका विस्तार गर्दै आएको छ। यस्तो अवस्थामा उच्च तहमा हुने बढुवा र जिम्मेवारी बाँडफाँटलाई संगठनको नेतृत्व क्षमता, अनुभव र कार्यसम्पादनसँग जोडेर हेर्ने गरिन्छ।
तीनजना सहायक रथी उपरथीमा बढुवा भएसँगै नेपाली सेनाको उच्च नेतृत्व पङ्क्तिमा नयाँ जिम्मेवारी र कार्यविभाजनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। बढुवा भएका अधिकृतहरूको अनुभव, कार्यकुशलता र नेतृत्व क्षमताले आगामी दिनमा सेनाको संस्थागत सुदृढीकरणमा योगदान पुग्ने सैनिक वृत्तमा विश्वास गरिएको छ।




