काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशीष श्रेष्ठ पक्राउ परेका छन् । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरले २०८३ वैशाख ८ गते च.नं. ६२१५ को पत्रमार्फत आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनसहित अनुसन्धान तथा छानबिनका लागि सीआईबीलाई पत्राचार गरेको थियो । सो प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड ‘छ’ बमोजिम कसूर भएको उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्राधिकरणको प्रतिवेदन र सुझावका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कम्पनीका अध्यक्ष ४६ वर्षीय आशीष श्रेष्ठ उक्त वारदातमा संलग्न रहेको आधार देखिएपछि उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालत, बबरमहलबाट २०८३ वैशाख १४ गते अनुमति लिइएको थियो ।
अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि सीआईबीको टोलीले श्रेष्ठलाई २०८३ वैशाख १५ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रहरीले बीमा ऐनअन्तर्गतको कसूरमा कम्पनीको भूमिका, निर्णय प्रक्रिया, आर्थिक तथा बीमा कारोबारसम्बन्धी कागजात र अन्य संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान अघि बढाएको बताइएको छ ।




