सुनसरी । सुनसरीको धरानमा क्याफेलाई आधार बनाएर अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने समूह प्रहरीको फन्दामा परेको छ । धरान उपमहानगरपालिका–१३ स्थित एक क्याफेबाट प्रहरीले 1Xbet मार्फत अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १० जनालाई पक्राउ गरेको हो ।
वैशाख १४ गते राति विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT समूह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त क्याफेमा छापा मारेको थियो । छापाका क्रममा अनलाइन सट्टेबाजीमा प्रयोग भइरहेका मोबाइलसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धरान–१३ का ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा रहेका छन् । त्यस्तै धरान–१ का ३३ वर्षीय सुजित साह, धरान–१६ का ४१ वर्षीय अशोक लिम्बु, धरान–१५ का ३५ वर्षीय भवानी दाहाल र धरान–१७ का ३१ वर्षीय प्रज्वल राई पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका १५ थान मोबाइल बरामद गरिएको छ । बरामद मोबाइलमार्फत उनीहरूले 1Xbet लगायतका अनलाइन प्लेटफर्म प्रयोग गरी जुवा तथा सट्टेबाजी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पछिल्लो समय मोबाइल एप, अनलाइन बेटिङ साइट र डिजिटल कारोबारमार्फत जुवा तथा सट्टेबाजी गर्ने क्रम बढ्दै गएपछि प्रहरीले निगरानी तीव्र बनाएको छ । सामान्य क्याफे, कोठा तथा भेटघाटस्थललाई समेत अनलाइन जुवाको अड्डा बनाउने प्रवृत्ति देखिन थालेको प्रहरी स्रोत बताउँछ ।
पक्राउ परेकामाथि सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




