काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को प्रस्तावित भारत भ्रमणअघि काठमाडौंमा कूटनीतिक चहलपहल तीव्र बनेको छ । प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा भारत रोजेका बालेनले भ्रमणलाई केवल औपचारिकता र फोटो खिचाउने कार्यक्रममा सीमित नराखी ठोस एजेन्डा र परिणाममुखी बनाउने अडान राखेपछि दुवै देशका अधिकारीहरू तयारीमा जुटेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने तयारीमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिन मिस्री काठमाडौं आउन लागेको बताइएको छ । समाचार अनुसार, मिस्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै प्रमुख मन्त्रीहरू तथा नेपाली समकक्षीसँग भेटवार्ता गर्ने तयारी छ । मिति भने औपचारिक रूपमा अन्तिम टुंगो लाग्न बाँकी रहेको भारतीय पक्षले जनाएको छ । सम्भवत : भारतीय विदेश सचिव विक्रम मिस्रीले २०८३ वैशाख २८-२९ गते नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएकाे छ ।
बालेनले भारत भ्रमणलाई पुरानै ढर्राको औपचारिक भेटघाटमा सीमित नराख्ने सन्देश दिएपछि भ्रमणको एजेन्डा तय गर्न दुवै देशका अधिकारीहरू सक्रिय भएका छन् । नेपालको प्राथमिकता, द्विपक्षीय सहकार्य, विकास साझेदारी, सीमा, ऊर्जा, व्यापार, पूर्वाधार र विश्वास निर्माणका विषय भ्रमणका मुख्य एजेन्डा बन्न सक्ने देखिन्छ ।
काठमाडौंमा भारतको सक्रियता त्यतिबेला बढेको हो, जतिबेला अमेरिका र चीनका अधिकारीहरू पनि नेपाल मामिलामा तीव्र रूपमा सक्रिय देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर वैशाख १७ अर्थात् अप्रिल ३० मा चारदिने भ्रमणका लागि काठमाडौं आउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।
अमेरिकी र चिनियाँ अधिकारीहरूको बाक्लिएको काठमाडौं आवतजावतबीच भारतीय विदेश सचिवको भ्रमणलाई सामान्य शिष्टाचार भ्रमणका रूपमा मात्र हेरिएको छैन । नयाँ सत्ता समीकरण, बालेन सरकारको कूटनीतिक प्राथमिकता र नेपाललाई लिएर छिमेकी तथा शक्ति राष्ट्रहरूको बढ्दो चासोका बीच यो भ्रमण अर्थपूर्ण मानिएको छ ।
भारतले बालेन सरकारसँग प्रारम्भमै सम्बन्धलाई नजिकबाट अघि बढाउन खोजेको देखिन्छ । अर्कोतर्फ, बालेनले पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने संकेत दिएर परम्परा कायम राख्न खोजे पनि भ्रमणबाट ठोस उपलब्धि निस्कनुपर्ने शर्त राखेका छन् । यही कारण दिल्ली भ्रमणअघि काठमाडौंमै एजेन्डाको गृहकार्य तीव्र बनेको हो ।
प्रधानमन्त्री बालेनका लागि यो भ्रमण पहिलो ठूलो कूटनीतिक परीक्षा हुने देखिन्छ । दिल्ली जानुअघि उनले कुन एजेन्डा अघि सार्छन्, भारतले कस्तो प्रतिबद्धता दिन्छ र नेपालले आफ्नो राष्ट्रिय हितलाई कति स्पष्ट रूपमा राख्न सक्छ भन्ने विषयले भ्रमणको वजन निर्धारण गर्नेछ ।




