(‘जो होचो उसको मुखमा घोचो ।’ भन्ने नेपाली उखान ५७ बर्षे काठमाडौंका रैथाने गणेश साहीसंग मिल्छ । अझ ‘सोझो रुख पहिले काटिन्छ’ भन्ने नेपाली उखान उनलाई नै लागू भएजस्तो हुन्छ । किन कि उनी आफूले आफूलाई सोझो नेवार भन्छन् । त्यसैले त ट्याक्सी चलाएर पनि लप्पनछप्पन गर्न नसकेको उनी बताउँछन् । टेकुका रैथाने उनलाई काठमाडौंका कुनै पनि नेवार ट्याक्सी ड्राइभरले लप्पनछप्पन गरेका छैनन् भन्नेमा विश्वस्त छन् । ट्याक्सीले भरमार लुट गरिरहेको छ भन्ने चर्चा चलिरहँदा बा २ ज १३८९ नम्बरको ट्याक्सीका चालक साही भने ट्याक्सी चलाउनै छोड्नु पर्ने मनस्थितिमा छन् । आखिर किन त ? २०३८ सालदेखि निरन्तर ट्याक्सी चलाइरहेका साहीसंग सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिले लिएको अन्तर्वार्ताको यो मुख्य अंश–संपादक)
पाको देखिनु हुन्छ, कति वर्षको हुनुभयो ?
–म ५७ वर्षको भएँ ।
गाडी कहिलेदेखि चलाउन थाल्नुभयो नि ?
–मैले २०३८ सालदेखि गाडी चलाइरहेको छु ।
कसरी होमिनु भयो नि यो पेशामा ?
–आमा बाबु गरीब थिए । २ कक्षा पढेरै छोडें । पढ्न सकिएन भन्नुप¥यो । खाने र खेल्ने गरेरै बाल्यकाल बित्यो । त्यसपछि रहरै रहरमा खलासी बन्न थालें । ट्रकजस्तो साहुको सानो लरी थियो । त्यो लोकल चल्दथ्यो । भक्तपुर, पाटनसहितका ठाउँमा बढी जान्थ्यो । कहिले डण्डी बोक्यो । कहिले बालुवा बोक्यो ।
कति वर्ष खलासी बन्नुभयो ?
–बनें नि झण्डै ६÷७ वर्ष । रहरै रहरमा लागे पनि दुःख भने खुवै खाइयो । काम भए साहुले पैसा दिन्थ्यो, नभए भोकै रहनु पर्दथ्यो । निकै पीडा भोगियो सुरुसुरुमा त । रहरले पीडा दिंदोरहेछ ।
कति कमाइ हुन्थ्यो ?
–महिनाको ३० रुपैयाँ कमाउँथे । त्यो पनि पैसा आउने नआउने टुङ्गो हुने थिएन ।
अनि के गर्नुभयो ?
–खलासी बन्दाबन्दा लरी चलाउन जान्ने भएँ । त्यसपछि मैले दुई वर्ष जति लरी चलाएँ । हेभीको लाइसेन्स पनि भयो । त्यसपछि मैले ट्याक्सी चलाएँ । ट्याक्सी चलाउन थालेपछि अरु चलाएकै छैन । ट्याक्सीमात्र यत्रा वर्ष चलाएँ ।
कुनकुन ट्याक्सी चलाउनु भयो ?
–थुप्रै ट्याक्सी चलाएँ । पहिले सानो टोयटा चलाएको थिएँ । त्यसपछि बासोन चलाएँ । बासोन वन्ट्वान्टी पनि चलाएँ । अनि रिक्रिएसन, फेरि टोयटा चलाएँ । टोयटा हटेपछि मारुती आयो । मारुती पनि हट्यो । त्यसपछि अल्टो आयो । अहिले अल्टो चलाइरहेको छु ।
ट्याक्सी आफ्नै हो कि ?
–के खाएर आफ्नो हुनु । साहुको हो ।
ट्याक्सी कहिल्यै आफ्नो भएन ?
–भयो । २०६० सालमा आफ्नो पनि बनाएँ । तर बेचिदिएँ । टेन्सन बढी हुने त्यसैले बेचें । अब साहुकोमात्र चलाउने ।
कस्तो छ ट्याक्सी लाइन ?
–खत्तम छ । पहिलेजस्तो राम्रो छैन । हामीजस्तो सोझोले ट्याक्सी चलाउन नसक्ने रहेछ । नेवारले त झनै नसक्ने । लप्पनछप्पन जान्दैन । बाहिरबाट आएका तामाङ्गहरूले सक्छ । उनीहरूले ड्याङडुङ गर्छ । यहाँ ड्याङडुङ गर्नेलेमात्र पैसा कमाउँछ । अहिले त जहाँ गए पनि ट्याक्सी । आफू मिटरमा बाहेक अन्त गइएन । अनि नाफा भएन । अहिले त ट्याक्सी नै ट्याक्सी अनि गाडी नै गाडी । हामीजस्ता इमानदारले ट्याक्सी चलाउनै नसक्ने भइयो ।
अब के गर्ने विचार छ त ?
–ट्याक्सी चलाउन नसक्ने भइयो । अब ५७ वर्ष उमेर भइसक्यो । ठूलो गाडी पनि चलाउन सकिन्न । अब हदै चलाए ८ वर्ष चलाइएला । तसर्थ निजी कार चलाउन पाए चलाउने हो । त्यही गर्ने वाध्यता छ । किन कि व्यापार बिजिनेश गर्न आएन । नेवारको छोरो भएर पनि व्यापार गर्न सिकिएन । जे सिकियो त्यही गर्ने हो । अब निजी गाडी नै चलाउनु पर्ला ।
कमाइ कस्तो छ ?
–छैन नि । १२ सय रुपैयाँ साहुलाई दिनुपर्छ । तेल तीन चार सयको खाइहाल्छ । अनि पैसा नै बच्दैन । कहिले पाँचसय जति बचाइन्छ । कहिले त एक रुपैयाँ पनि आम्दानी हुन्न । निकै कष्टकर कमाइ छ ।
अनि ट्याक्सीवालाले त मिटर बिगारेर चलाउँछन् भन्छन् नि ?
–भोटे तामाङ्ग वा अरु कसैले त्यसो गरेहोलान् । आफूले गरिएन । मिटरमै चलाइयो । नबिगारी चलाइयो । मिटरमा नगए त पैसा कमाइ हुन्थ्यो । फेरि पक्राउ परियो भने पाँच हजार रुपैयाँ जान्छ । तर उनीहरू सजिलै पाँच हजार तिरिदिन्छन् म छक्क पर्छु ।
के रहेछ ड्राइभरको जिन्दगी ?
–जिन्दगी केही छैन । सक्नुजेल, बाँचुन्जेल ट्याक्सी चलाउने । मरेपछि मूर्दाबाद । बाँचुन्जेल केही गर्न सकिएन जस्तो लाग्छ ।
तपाईको सुरुको पालामा त सम्मान थियो होला है ?
–त्यतिबेला गुरुजी भनेर मीठो संवोधन गर्थे । अहिले गाली गर्छन् । जड्याहादेखि सज्जनसम्म चढाइयो । केटीहरू पैसा नदिइकन भाग्थे । ट्राफिक प्रहरी त्यस्तै छ । कतिबेला कार्वाही गर्छ पत्तो नहुने । सामान राखे समात्ने । पार्किङ्ग छैन । ट्राफिक प्रहरीको मनोमानीमात्र छ ।
के गरे ट्याक्सीलाई राम्रो हुन्छ ?
–अब केही गरे पनि राम्रो हुँदैन । गाडी नै बढी भयो । दालभात खानै गा¥हो भइसक्यो ।



