काठमाडौं । ललिता निवास प्रकरण मुलुकको निकै ठुलो भ्रष्टाचार प्रकरण मानिदै आएको छ । उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, मन्त्रीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तदेखि उच्चपदस्थ कर्मचारीहरु मुछिएका थिए । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालमा बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले अनुसन्धान सकेर गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनको कार्यान्यवन पुन शुरु गरिएको छ । ललिता निवासको १ सय १२ रोपनी जग्गा गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले २०८० असार १२ गते पक्राउ गरेको छ । उनीसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये तीन जनालाई भने अदालतले स्टे अर्डर दिएको भन्दै प्रहरीले कागज गराएर छोडेको छ ।
ब्यूरोले अनुसन्धान सकेर तत्कालीन प्रहरी महानिरीक्षक खनालले गृह मन्त्रालयमा बुझाएको प्रतिबेदनमा १ सय बढीलाई मुद्दा चलाउन राय पेश गरेका थिए । खनाल अवकाश भएपछि ललिता निवास प्रकरणको छानबिन प्रतिबेदन त्यसै थन्क्याएर राखिएको थियो । खनालले २०७९ मंसिर चार गते प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएपछि सार्वजनिक मंचहरुमा उनले ललिता निवास प्रकरण छानबिन रोकिएको प्रति आक्रोश व्यक्त गर्दै आएका थिए ।
युवा नेता रवि किरण हमालले प्रहरी हेडक्वार्टरमा ललिता निवास प्रकरणमा भएको छानबिन प्रतिवेदन पुन सार्वजनिक गर्न माग गरेका थिए । जसले प्रहरी माथि थप दबाब सिर्जना गरेको बताइएको छ । जसका कारण व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा पुन अनुसन्धान सुरु गरेको बताइन्छ । प्रहरीले हिम्मत गरेको खण्डमा राजनैतिक दबाब र प्रभावमा नपरी यो प्रकरणमा छानबिन अगाडि बढाउने हो भने मैहुँ भन्ने राजनीतिक दलका उच्च नेताहरुको मुखुण्डो उत्रिने निश्चित जस्तै रहेको स्रोत बताउँछ ।
राजनीतिक तहदेखि मालपोतका कर्मचारीहरु र उच्च प्रशासकहरु गरी एक सय भन्दा बढीलाई मुद्दा चल्ने निश्चित रहेको स्रोतको भनाइ रहेको छ । उक्त प्रकरणमा पूर्व प्रधानमन्त्री भट्टराई र नेपालको समेत नाम जोडिदै आएको छ । आफू माथि कार्वाही हुने डरले भट्टराईले सामाजिक संजालमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथि विभिन्न आरोप लगाएका छन । (साँघु साप्ताहिक, २०८० असार १८)



