साँघुन्यूज डटकम/
काठमाडौं। निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनप्रति संघीय समाजवादी फोरमले आपत्ति जनाएको छ । २०७४ भदौ १६ गते शुक्रवार फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको भन्दै तत्काल सञ्चाउन माग गरेको छ । फोरमले सत्तारुढ दल काग्रेसको स्वार्थ अनुसार क्षेत्र निर्धारण भएको भन्दै आपत्ति पनि जनाएको छ ।
फोरमले भनेको छ ‘सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेकोले आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको हाम्रो ठहर छ ।’
फोरमका अनुसार एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी अधिकांश क्षेत्रको पुनर्संचना गरिएको छ । फोरमले पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।




