काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हतार हतारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को निमित्त उपकुलपतिमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्ति गरेका छन् । प्रतिष्ठान ऐनलाई टेकेर विगतमा उपकुलपति (भीसी) रिक्त हुँदा तत्कालका लागि न्याम्स पदाधिकारीभित्रबाटै निमित्त दिने चलन थियो । तर, यो चलनलाई तोड्दै मन्त्री बस्नेतले औषधि र उपकरणका बिचौलिया, वीर अस्पतालको ट्रेड आजीवन नेता हुँ भन्ने दीपक मुडभरी, चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की र वर्तमान अध्यक्ष डा. अनिलविक्रम काकी को मिलेमतो र आरजु राणाको दबाबमा भूपेन्द्र बस्नेतलाई निमित्त भीसीको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालय स्रोत बताउछ ।
न्याम्स पदाधिकारीका रुपमा वीर अस्पतालका निर्देशक पनि रहने प्रावधान छ । अहिले वीरको निर्देशकमा डा. सन्तोष पौडेल कार्यरत छन् । उनलाई नै तत्कालका लागि निमित्त भीसीको जिम्मेवारी दिन सकिन्थ्यो । तर, उनी एमालेनिकट भएको ट्याग लगाएर २ पटकसम्म वीर अस्पतालको निर्देशक हुँदा विवादमा परेका र ट्रेड युनियनका नेताहरुको कमाइका माध्यम भएका डा. भूपेन्द्रलाई नै निमित्त दिएपछि त्यहाँका चिकित्सकहरु नै रुष्ट भएका छन् ।
भीसी पद रिक्त भएको २ महिना नाघिसकेको छ । २ महिनासम्म निमित्त आवश्यक नपर्ने न्याम्समा मोहनबहादुर बस्नेत मन्त्री हुने बित्तिकै आकाशै खसेजस्तो हतारमै भीसी नियुक्ति गरी कर्मचारीका रुपमा कार्यरत भूपेन्द्रलाई नै किन निमित्त दिइयो ? निमित्त दिनुको पछाडि औषधि सप्लायर्सहरुको आर्थिक चलखेलले समेत काम गरेको बताइन्छ । प्रतिष्ठान ऐनले कुलपति तथा प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य र स्वास्थ्य सचिव सम्मिलित ३ सदस्यीय सिफारिस समिति बनाउने प्रावधान छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कांग्रेसका बस्नेत स्वास्थ्य मन्त्री बेग्लाबेग्लै दलका भएकाले उनीहरु दलनिकट ब्यक्तिलाई भीसी बनाउने पक्षमा रहेपछि मन्त्री बस्नेतले चोर बाटोबाट पहिले नै निमित्त दिएर झमेला सृजना गर्न खोजेको आरोप छ । भीसी नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउँदा पनि बढीमा १५ दिन भन्दा लाग्दैन । तर, बस्नेत प्रधानमन्त्रीको दबाबमा माओवादी निकटलाई सिफारिस गर्नुभन्दा कांग्रेस र खासगरी आरजु राणा निकट भनिएका डा. भूपेन्द्रलाई निमित्त दिएर उनकै नाम सिफारिस गर्ने खेलमा मन्त्री बस्नेत रहेको चर्चा मन्त्रालयमा हुने गरेको छ । त्यही खेल अन्तर्गत हतार हतार निमित्त दिएर मानौं भीसी नै भएजस्तो चर्कोे मिडियाबाजी गरिएको छ । तत्काल सिफारिस समिति बनाउन नदिने, बनाए पनि लम्ब्याएर निमित्त भीसीबाटै काम चलाउने वीर अस्पतालमा रमाउँदै आएका बिचौलियाहरुको सुझावलाई मन्त्री बस्नेतले अनुमोदन गरेका हुन् ।
विगतमा संयुक्त सरकार हुँदा पनि न्याम्सका पदाधिकारी भागबण्डामा नियुक्ति हुने परम्परा रहेको छ । छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपतिले भीसी नियुक्ति गर्ने, भीसीको सिफारिसका आधारमा बाँकी पदाधिकारीको नियुक्ति स्वास्थ्य मन्त्रीले गर्ने कानूनी ब्यवस्था छ । माओवादी स्रोत भन्छ, प्रधानमन्त्री जुनसुकै हालतमा भए पनि पार्टी निकट चिकित्सकलाई आफ्नै हातबाट भीसी नियुक्ति गर्ने पक्षमा रहेका थिए भने मन्त्री बस्नेत र न्याम्सलाई बिर्ता सम्झिने चिकित्सक संघ, वीर अस्पतालको कांग्रेस निकट ट्रेड युनियन भने माओवादीलाई भीसी कुनै हालतमा दिनु हुँदैन पक्षमा रहेको थियो ।
आफूले भीसी नपाए निमित्त भीसी नै लामो समयसम्म कायम राख्ने दाउमा कांग्रेसहरु रहेको बताइन्छ । अरु पार्टीनिकट भीसी आएमा औषधि सप्लाईलगायत करोडौंको ठेक्कापट्टामा भ्रष्टाचार गर्न नपाइने भएकाले बिचौलियाको रोजाइमा भनेको खुरुखुरु मान्य डा. भूपेन्द्र नै परेको चर्चा चिकित्सकहरुले गर्ने गरेका छन् । उनी निमित्त भएपछि अस्पतालको ट्रेड युनियनका आजीवन नेता र वीर अस्पतालको पचासौं करोड बजेटमा मस्ती गर्दै आएका बिचौलियाहरुले भोजभतेर गरेर खुसी समेत प्रकट गरिरहेको वीरको स्रोत बताउछ ।



