इस्लामावाद, २९ असार : निर्वाचनको दिन नजिकिदै गर्दा पाकिस्तानमा दिनप्रतिदिन हिंसाका घटनामा बृद्धि हुँदै गएका छन् । शुक्रबार भएका दुई छुट्टाछुट्टै घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु ५० भन्दा बढी घाइते भएका छन् ।
बलुचिस्तान प्रान्तमा भएको चुनावी र्यालीमा भएको बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सो घटनामा मात्रै अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । यो एकैदिनमा भएको दोस्रो आक्रमण हो ।
शुक्रबार यस पहिले पाख्तुङखवा प्रान्तमा पनि आक्रमण भएको र उक्त आक्रमणमा कम्तीमा ११ जना घाइते भएका थिए । आसन्न निर्वाचनको प्रचार प्रसारका लागि आयोजित कार्यक्रममा सहभागीलाई लक्षित गरेर भएको आक्रमणमा उनीहरु घाइते भएका हुन् ।
“ बलुचिस्तान घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ, मृत्यु हुनेहरुको संख्या अझ पनि बढ्न सक्छ की भनेर हामीलाई डर लागेको छ,” प्रान्तीय गृह मन्त्री अघौमर बुङगाल्जाईले भने । अरु ४० जना घाइतेसमेत हुनेगरी भएको घटना बलुचिन्तान प्रान्तको राजधानी क्वेटादेखि नजिकै पर्ने मस्टुङ सहरमा भएको पनि उनले जानकारी दिए ।




