काठमाडौं । नेपाली सेनाले चीनबाट नेपाली सेनाका लागि हतियार खरिद गर्ने प्रयास गरेपछि विवाद बढेको छ । सेनाले करिब ६ अर्ब रुपैयाँको एपिसी र हतियार खरिदको प्रयासले राजनीतिकदेखि विभिन्न शक्तिराष्ट्रले पनि चासो राख्न थालेपछि कूटनीतिक क्षेत्रमा विवाद बढ्न थालेको स्रोत बताउछ । नेपालले चीनबाट हतियार खरिद गर्दा भारतले निकै चासो राख्ने र कतिपय सन्दर्भमा रोक्ने प्रयास पनि गर्दै आएको छ ।
विगतको इतिहास हेर्दा नेपाली सेनाले एन्टीएयर क्राफ्टलगायतका हतियार चीनबाट खरिद गर्दा नाकाबन्दीसमेत लगाएको थियो । त्यसैले अहिले पनि नेपालमा सेनाको खरिदको तयारीमा भारतीय चासो बढेको बताइन्छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा सेनाले चीनबाट हतियार खरिद प्रक्रिया अगाडि बढाएको थियो । नेपाली सेनाले चीनबाट २६ एपिसी, ७२ वटा ट्याक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । नेपाली सेनाका रैथाने कमिशनखोर दलालहरुको योजना अनुसार, अहिले यो प्रक्रिया तीव्र बनेको स्रोत बताउछ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणको तयारीमा रहेका छन् ।
कांग्रेस नेताका आफन्त लोकेन्द्र कार्की(पूर्व मन्त्री ज्ञानेन्द्र कार्कीका भाइ)नै यो ठेक्का प्रकरणमा जोडिएका कारण अहिले कांग्रेस सभापति देउवादेखि अन्य नेताहरु पनि चासो राखिरहेका छन् । देउवासममेतको चासो रहेकै कारण विश्वासपात्र पूर्णबहादुर खड्कालाई रक्षामन्त्री बनाएको चर्चा पनि हुन थालेको छ । उनकै पहलमा अहिले सेनाले चीनबाट १० हजार थान सीक्यु राइफल खरिद प्रक्रिया समेत अघि बढाउन खोजेको छ ।
स्रोतका अनुसार, चीनबाट हतियार खरिद गराउने भूमिका सेना भित्र अर्बौंका ठेक्का हात पार्दै आएको ठेकेदार लोकेन्द्र कार्की सक्रिय रहेको बताइन्छ । उनी विगत पनि सेनाका हतियार खरिद र सेनाको अन्य ठेक्कामा संलग्न रहँदै आएका छन् । कार्की नातामा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ रहेको बताइन्छ ।
नियमित बजेट भन्दा पनि सेनाको सैनिक कल्याणकारी कोषको रकमबाट यी सामाग्री खरिद गर्न लागेको चर्चा छ । शान्ति सेनाका लागि आवश्यक सामाग्रीको रुपमा उक्त कोषबाट खरिद गर्न खोजिएको हो र पछि भुर्ताल हुने बताइन्छ । सेनाले भारतको महेन्द्रा कम्पनीबाट समेत चार वटा एपीसी खरिद गर्दैछ । सेनाले चीन र भारतीय दूतावासमार्फत कोटेशन मागेर (जी टु जी) नाटक गरेर भेइकल खरिद गर्न लागेको बताईएको छ ।
महेन्द्राको एउटा एपीसीको मूल्य प्रति थान तीन करोड ९८ लाख छ भने चीनबाट ल्याउन लागेको एपीसीको मूल्य भने प्रति थान सात करोड ७५ लाख रहेको बताइएको छ । सेनाले चीन र भारतबाट एपीसी र हतियार ल्याउने सम्झौता गत हप्ता गरेको बताइएको छ ।
सेनाले यसरी खरिद गर्ने प्रक्रिया भने दुई सरकारबीच हुने बताइएको छ । जी टु जीमार्फत हुने भएकोले आर्थिक अनियमितता नहुने सेनाले दावी गर्दै आएको छ । नेपालमा सत्ता परिवर्तनसंगै चिनियाँ कम्पनी नोरिन्कोले एजेण्ट समेत परिवर्तन गरिसकेको छ । राजकुमार नैडु उक्त कम्पनीको एजेण्ट रहेको स्रोतको दावी छ ।
नोरिन्कोका एजेण्ट लामो समयदेखि उमेश श्रेष्ठ र रोशन श्रेष्ठ थिए । पछिल्लो समय सेनाको शान्ति सेना हेर्ने सहायक रथी सन्तोषवल्भ पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साला भुषण राणा, कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाई लोकेन्द्र कार्कीको मिलेमतोमा एजेण्ट परिवर्तन गरिएको चर्चा रहेको छ । अहिले नेपाली सेनाको अर्बौंको ठेक्का हात पार्दै आएको ठेकेदार लोकेन्द्र कार्कीका स्टाफको नाममा नोरिन्को एजेन्सी हात पारेको स्रोत बताउछ ।
कांग्रेस सभापति देउवा पत्नी आराजु राणाले समेत चिनियाँ कम्पनीको एजेण्ट कार्कीलाई दिलाउन भूमिका खेलेको बताइन्छ । नोरिन्कोको प्रतिनिधिमण्डल दुई पटक काठमाडौं आइसकेको छ । उनीहरुसँगको गोप्य बैठकमा राणासहित उनका छोरा जयविर समेत सहभागी रहेको स्रोतले बतायो ।
लोकेन्द्र कार्कीले नै तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालमाबिना प्रतिस्पर्धा केटू हतियार ल्याएका थिए । उनले प्रधानसेनापति थापाका नातेदारलाई साझेदार बनाएर डेउ प्रिसिजनबाट डेढ अर्वको हतियार खरिद गरेका थिए । जसको मूल्य एक थान हतियारको ९ सय डलर रहेको थियो ।
ती हतियार काम नलाग्ने भएको भन्दै अहिले सेनाभित्रै गम्भीर प्रश्न उठिरहेको छ । उक्त हतियारको विषयमा प्रश्न उठेको भएपनि अहिले फेरि तिनै कमिशन एजेन्ट, सप्लायर्स कार्कीको डिजाइन र प्रयासमा अर्बौंको हतियार खरिद हुन लागेको हो ।
चीनमा पोली र नोरिन्को दुवै प्रतिस्पर्धी सरकारी कम्पनी हुन् । कार्की यसअघि सेनाको काठमाण्डौं तराई दु्रतमार्गको ठेक्कामा समेत संलग्न विवादस्पद व्यापारी हुन् । दु्रतमार्गको ठेक्का चिनियां कम्पनी पोलीले नै पाएको थियो । उनले सिंगापुरमा नेपाल सरकारको स्वीकृतिविना ग्लोबल होल्डिङ नेटवर्क प्रालि नामको कम्पनी दर्ता गरेका छन् । सिंगापुरको २० सिसिल स्ट्रीट, १४–०१ इक्वीटी प्लाजामा ०४९७०५ नम्बरको दर्ता रहेको कार्यालय समेत उनले खोलेको स्रोत बताउछ ।
कमिशन एजेन्ट कार्कीकै प्रयासमा सेनापति थापाको पालामा खरिद गरेको चार अर्ब ४५ करोड लगानीमा अटोमेटिक राइफलमा लाग्ने ५.५६ र ७.६७ एमएम साइजको गोली उत्पादन गर्न सुन्दरीजलमा एम्म्युनिशन (AMMUNITION) अहिलेसम्म पनि संचालनमा आउन नसकेको बारेमा प्रधानसेनापति प्रभुराम शर्माले कुनै चासो नै नलिएर फेरि सेटि¨ र मिलेमतोमै कार्कीलाई नै अर्बौंको भेइकल, हातहतियारको ठेक्का दिने तयारी गरेको सैनिक स्रोत बताउँछ । कार्कीले राजनीति पहुँच र पूर्वप्रधानसेनापति थापाका नातेदारसँगको सेटिङमा सेकेण्ड ह्याण्ड हतियार र एम्म्युनिशन (AMMUNITION) न्ट खरिद गरेकाले सञ्चालन हुन नसकेको सेनाका एक उच्च अधिकारीले बताए ।



