काठमाडौं । आगामी २०८० साल असार मसान्तसम्म नेपाल सरकारका विशिष्ट श्रेणीका तीन जना सचिव अनिवार्य अवकासमा जाने भएका छन । केही पाँच वर्षे सेवा अवधि पूरा गरेर त कोही ५८ वर्षे उमेर पूरा भएर अनिवार्य अवकास हुँदैछन । आगामी असारमा अवकासमा जाने सचिवमा राष्ट्रपति कार्यालयका यादव प्रसाद कोइराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा रहेका डा. बैकुण्ठ अर्याल र तथ्याङ्क कार्यालयका प्रमुृख सचिव रामप्रसाद थपलिया रहेका छन ।
यी सचिवहरूले अवकास पाएसँगै सचिव बढुवाको सूचीमा बरिष्ठ सहसचिवहरूको भाग्य चम्किने भएको छ । हाल चीनमा महावाणिज्यदूत रहेका दिनेश घिमिरे, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेत र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको बरिष्ठ सहसचिवको हैसियतले सचिव बढुवा हुने लाइनमा रहेका छन ।
सचिव बढुवाको लागि आवश्यक संख्याको तेब्बर नाम लोकसेवा आयोगमार्फत सरकार समक्ष सिफारिस गर्नुपर्ने कानूनी प्रावधान रहेको बताइन्छ । त्यसरी सिफारिस भएका नामबाट मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने कानूनी व्यवस्था रहेको छ ।
नयाँ मुख्य सचिवको चर्चा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले वर्तमान मुख्य सचिव डा. शंकर बैरागीलाई मुख्यसचिवको जिम्मेवारीमा ल्याएको थियो । उनी परराष्ट्र सेवाका क्याडर्स हुन् । निर्णय क्षमता अति कमजोर भएका बैरागीले मुख्यसचिवको जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको गुनासो बढेको छ ।
उनले सहसचिव र सचिवको क्षमता, दक्षता, अनुभव र नैतिकताका बिषयमा सरकार समक्ष अडान राख्न नसक्दा १८ दिनमा सरुवा गरिएका थुप्रै घटनाहरू बाहिर आएका छन । यही कारण उनी आलोचित पनि हुँदै आएका छन । राजनीतिक पहुँच नभएका सहसचिवहरू तीन वर्षसम्म पनि एउटै निकायमा अर्कामा सरुवा हुन पाएका छैनन् । सामान्य प्रशासन मन्त्रालयले पनि उनीहरूको सरुवालाई महत्व दिएको छैन ।
तर, पहुँच भएकाहरू भने ६–६ महिनामा बजेटका हिसावले आकर्षक अड्डामा सरुवा हुने गरेका छन । यस्ता बिषयमा मुख्य सचिव बैरागीको ध्यान गएको देखिदैन । उनलाई रिझाउन सक्नेहरूले भने अवसर नै अवसर पाएका छन । तर, कोसेलीपात लिएर चाकडीमा जान नसक्नेहरूलाई भने उनले नदेखेको झंै गर्ने गरेकोे आरोप उनी माथि लाग्ने गरेको छ ।
आकर्षक विभागको महानिर्देशक र मन्त्रालयको सचिव सरुवामा मन्त्री र प्रधानमन्त्रीलाई दह्रोसँग कन्भिन्स गर्न सकेका छैनन् । जसका कारण असक्षम, नालायक, जुनियर, चाकडीबाज सहसचिवहरूले अवसर प्राप्त गर्दै आएका छन । सचिवको जिम्मेवारी पनि एक क्षेत्रको विज्ञलाई अर्काे क्षेत्रको मन्त्रालय दिइदा समेत उनले अडान लिन सकेको देखिदैन । सचिवहरूको योग्यता, क्षमता, दक्षता, विषय विज्ञको अनुभवको अपमान र तिरस्कार गर्ने काम हुँदै आएको छ ।
विगतमा परराष्ट्रको साँघुरो घेरामा बसेका र तत्कालीन प्रधानमन्त्री ओलीलाई खुसी पारेर मुख्यसचिव बनेका कमजोर कार्यक्षमताका बैरागीको व्यवहारबाट कर्मचारीहरू असन्तुष्ट बनेका छन । मुख्यसचिवको भूमिका खासै प्रभावकारी नरहेको गुनासो प्रधानमन्त्री प्रचण्ड समक्ष धेरै पटक पुगिसकेको छ । औपचारिक, कूटनैतिक र प्रधानमन्त्रीको स्पिडअनुसार उनले काम गर्न नसकेको बताइन्छ ।
बैरागीको बारेमा यही मूल्याङ्कन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई कतै मिल्दोजुल्दो राजनीतिक नियुक्ति दिएर सिट खाली गराउने योजना बनाएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्यसचिव खाली गराउन सकिएको अवस्थामा अवकाशको मुखैमा पुगेका प्रशासन सेवाका डा. बैकुण्ठ अर्याल, यादव प्रसाद कोइराला र केवल प्रसाद भण्डारी मध्ये एक जना सिनियर सचिवबाट मुख्यसचिव बनाउने सोचमा प्रधानमन्त्री प्रचण्ड पुगेको बालुवाटार निकट स्रोतले बताएको छ ।




