काठमाडौँ, १७ जेठ। मालपोत कार्यालय चितवनमा कार्यरत नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धितालले लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ परेका छन्।
सेवाग्राहीसंग घुस माघेको उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले निजहरुलाई रु.२५,०००।– (पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको फन्दामा परेका थिए।
उनीहरुलाई मालपोत कार्यालय परिसर भित्रबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्।
यसैबीच आयोगले जिल्ला समन्वय समिति सप्तरीका नासु युगेश्वरप्रसाद यादव र लेखापाल श्यामसुन्दर यादवविरुद्ध बिगो रु एक लाख ३५ हजार र सोही बराबर जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
महुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग रु एक लाख ३५ हजार घुस लिएको अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान हुँदा लेखापाल श्यामसुन्दरसँग आपसी मिलेमतोमा उक्त कार्य गरेको खुल्न आएकाले उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।



