मुलुकमा २ नम्बर प्रदेशको स्थानीय निर्वाचनको तयारी प्रारम्भ भएको छ र निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको घोषणा समेत गरिसकेको छ । त्यसैगरी संवैधानिक व्यवस्था अनुसार प्रादेशिक तथा केन्द्रीय संसदको निर्वाचन पनि यथाशीघ्र सम्पन्न गर्नुपर्ने अवस्था छ । यसैबेलामा तराईका जिल्लाहरू र खासगरी मध्य तथा पूर्वी तराईका जिल्लाहरू बाढी र डुबानको चपेटामा परेको छ र हजारौं हजार घरपरिवार आफ्नो थातथलोबाट विस्थापित भएका छन् । धेरै मानिसहरूको ज्यान गएको छ र दर्जनौं मानिसहरू बाढीमा परेर वेपत्ता भएका छन् । डुबानको चपेटमा परेका धेरै मानिसहरूले कैयन दिनसम्म हातमुख जोर्न पाएका छैनन्, उनीहरूले पिउने पानीलगायत आगो वा ग्याँस बाल्ने ठाउँ र पकाउने अन्नपात समेत पाएका छैनन् । तर सरकार, राजनीतिक दलहरू डुबान र बाढी पीडित मानिसहरको पीडामा मलम लगाउन असमर्थ भएका छन् । उनीहरूले खोक्रा वक्तव्य निकालेर बाढी पीडित मानिसहरू र वस्तीप्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठानिहरेका छन् ।
यसैबेला अरुलाई अरुको रन्को फलानालाई कुन्नि के को रन्को भनझैं प्रधानमन्त्री शेरवहादुर देउवा र राजपाका नेताहरू संविधान संशोधनको रन्कोमा लागेका छन् । प्रधानमन्त्री देउवाको अझ अर्काे रन्को–उनलाई भारत भ्रमणको रन्को पनि साथसाथै लागेको छ । सबै काम छोडेर आफू प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत भ्रमण गएर भारतीय संस्थापनको अर्ति उपदेश लिने र उनीहरूलाई रिझाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने ध्यान्नमा लागेका छन् प्रधानमन्त्री देउवा । नेपाल र भारत छिमेकी मुलुक हुन् । नेपालमा धेरैजसो अत्यन्त आवश्यक वस्तुको आयात पनि भारतबाटै हुन्छ ।
नेपालमा भारतले बाँधेका कोशी र गण्डक बाँध समेतका बाँधबाट बर्षेनी नेपालको सो क्षेत्रका बासिन्दाहरू डुबानमा पर्दै आएका छन् । सो क्षेत्रमा डुबानले बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ । पछिल्ला बर्षहरूमा भारतले नेपालको सीमावर्ती क्षेत्रमा पानीको प्राकृतिक बहाव नै अवरुद्ध हुनेगरी अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा नेपालको सहमति समेत नलिईकन बनाएका बाँध, तटबन्ध र सडकजस्ता संरचनाहरूको निर्माणले नेपालका झन्झन् धेरै भूभाग बर्षेनी बाढी र डुबानको चपेटामा पर्न थालेका छन् । त्यसैले नेपालले भारतसित मित्रवत् सम्बन्ध पनि राख्न आवश्यक हुन्छ र भारतले पानीको प्राकृतिक वहावलाई रोकर नेपालमा डुबानको समस्या बढ्नेगरी बनाएका संरचनाहरूको कारणले नेपालमा उत्पन्न समस्याहरूको निराकरणको निम्ति पनि तत्काल ठोस काममा लगानी गर्न समेत भारतलाई खुला र स्पष्ट रुपले आग्रह गर्नुपर्छ । कुनै पनि देशको सरकार प्रमुखले आफ्नो मुलुकलाई नोक्सान गर्नेगरी अर्काे मुलुकलाई खुसी पार्न खोज्दैन भन्ने विषयमा प्रधानमन्त्री देउवाले भारतलाई नै हेरेर पनि शिक्षा लिन सक्नुपर्दछ । भारतले चिप्ला कुरा गरे पनि कुनै प्रकारको स्वार्थ नराखीकन नेपाललाई सहयोग गरेको ठोस दृष्टान्त पनि छैन । त्यसको निम्ति हामीहरूले अरु मुलुकलाई सराप्ने वा जीहजुरी मात्रै गर्ने काम गर्न छोेडेर राष्ट्रिय हितको रक्षाको विषयमा आफैं सजग हुन जरुरी छ ।
देउवा वा नेपालका अरु कुनै प्रधानमन्त्री भारतको आशीर्वाद मात्र प्रधानमन्त्री भएका छैनन् भन्ने कुरा बुझ्न जरुरी छ । देउवालई प्रधानमन्त्री बनाउन पनि नेपाली जनताकै प्रमुख भूमिका छ । अहिले प्रधानमन्त्रीले आफ्नो भारत वा अन्य मुलुकको भ्रमणलाई प्राथमिकता दिन उचित समेत देखिदैन तापनि उनको हुटहुटी हेर्दा उनी भारतको भ्रमणमा ननिस्की छाड्दैनन् भन्ने देखिन्छ । त्यसैले भ्रमणको क्रममा भारतको प्रस्तावमा नेपालमा फर्केर विस्तृत छलफल र अध्ययन नगरीकन कुनै नयाँ सम्झौताहरू नगरुन, भारतले निर्माण गरेका संरचनाहरूले नेपालमा उत्पन्न गरेका समस्याहरू पनि भारतसँग स्पष्ट रुपले राखुन् र नेपालको हितमा भएका पूर्व सम्झौताका शर्तहरू निश्चित समयभित्र पूरा गर्नका निम्ति ठोस कार्ययोजना प्रस्तुत गर्न भारतीय पक्षसँग ठोस अडान राखुन भन्ने नेपाली जनताको चाहना रहेको कुरामा उनी पूर्णरुपले सजग हुन जरुरी देखिन्छ ।



