• बिहीबार-चैत-१५-२०८०

चार एआईजी बढुवामा कनिष्ठलाई तान्ने तयारी ! : चुनाव हारेका गृहमन्त्री खाण र सचिवको हतारो ? 

 

काठमाडौं । काम चलाउ सरकारले नयाँ सरकार बन्नु अगाडि नै नेपाल प्रहरीमा रिक्त रहेका चार एआईजी पदमा बढुवाको तयारी थालेको छ । निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्ने चरणमा रहेको अवस्थामा कामचलाउ सरकारले दीर्घकालीन असर पुुग्ने खालको निर्णय गर्न मिल्दैन । तर, पनि प्रहरीको भावी नेतृत्वको दावेदार नै फेरबदल हुने गरी बढुवाको तयारी गरेको खबर छ । जसमा प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशनमा रूपन्देही ३ बाट निर्वाचन हारेका गृहमन्त्री बालकृष्ण खाण र सचिव विनोदप्रकाश सिंह एआईजीपी बढुवामा गर्न हतार गरिरहेको स्रोतले बताएको छ ।


 नेपाल प्रहरीका एआईजीहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुक २०७९ असारदेखि कार्तिक २६ गतेसम्म अवकाश पाएपछि प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त छ । उक्त पदमा आईजीपी धिरजप्रताप सिंहकै ब्याचका मधेस प्रदेशका डीआईजी मसउद आलम खाँ दावेदार छन । यस्तै, लुम्बिनी प्रदेशका डिआईजी नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका डिआईजी मोहन आचार्य वरिष्ठताका आधारमा दाबेदार छन् । 


उनीहरू तीनै जना डिआईजी र एआईजी बढुवाका स्वभाविक हकदार मानिन्छन् । अर्काे एकजना डिआईजी बढुवामा भने तीव्र चलखेल सुरू भएको बताइएको छ । खाँ, उपाध्याय र आचार्य आगामी २०७९ चैमा अवकाश हुनेछन । यी तीन मध्ये    एक जनालाई बढुा नगरेर पछिल्लो व्याजबाट दुईजना जुनियर डिआईजीलाई बढुवा गर्ने दबाब आईजीपी सिंहलाई पर्दै आएको प्रहरी स्रोतले बताएको छ । २०७९ मंसिर चार गते भएको आम निर्वाचनमा लज्जास्पद हार बेहोरेका गृह मन्त्री खाण र उनको सहयोगी समूहले प्रधानमन्त्री निवास बालुवाटारको चर्को दबाबमा अप्रेशन विभागका डिआईजी वसन्तवहादुर कुवँर र  विशेष ब्युरोका प्रमुख तथा विवादस्पद डिआईजी अशोक सिंहलाई बढुवा गर्न फाइल अगाडि बढाउन खोजिरहेको गृह स्रोतको दावी छ । गृह सचिव सिंहले आफ्ना दाइ डिआईजी अशोक सिंहको जसरी पनि बढुवा गर्न सिफारिस गर्न तीव्र लबिइङ गर्दै आएको चर्चा छ । गृह स्रोतका अनुसार। सिंहको बढुवाका लागि गृह सचिव सिंहदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्मका शक्ति केन्द्रमा दौडधूप चलिरहेको छ ।


  एआईजीको दावेदार सिंहभन्दा अघि वरिष्ठताका आधारमा डिआईजीहरू कुँवर पहिलो, टेकप्रसाद राई दोस्रो, सिंह तेस्रो, डीआईजी दीपक थापा चौथो नम्बरको वरीयतामा रहेका छन् । प्रहरी संगठनमा कमाण्ड, व्यवसायिकता, इमान्दार र कार्यसम्पादनका हिसावले सिंह भन्दा कुँवर, राई र थापा अब्बल मानिदै आएका छन । डिआईजी सिंह काठमाडौं प्रहरी प्रमुख रहँदा होस् वा एसपी भएका बेला  विवादमा परेका थिए । तर, निर्वाचनको मत परिणामको नतिजा अन्तिम चरणमा पुगेको र छिटै नयाँ सरकार गठन हुने भएकाले अहिले नै हतारहतारमा बढुवा गर्न चलखेल किन गरियो भन्ने प्रश्न पनि उठेको छ ।


स्वभाविक दावेदारहरूलाई पन्छाएर कुवँर र सिंहको पनि एआईजीमा बढुवा भएमा उनीहरू दुबै जना प्रहरीको भावी नेतृत्वका लागि दावेदार हुनेछन् । सिंहलाई मात्र बढुवा गरे उनी एकल दाबेदार हुनेछन । प्रहरीमा ३० वर्षे सेवा हदका कारण आगामी २०७९ चैत ११ गते आईजीपी सिंहसँगै सबै एआईजीहरू र हाल एआईजी बन्ने लाइनमा रहेका डिआईजीहरू खाँ, उपाध्याय र आचार्यलगायतले अवकाश पाउने भएपछि सिंहलाई आईजीपी बन्ने बाटो खुल्नेछ । त्यसैले पनि सिंहलाई एआईजी बनाउन अहिले निकै जोडबल भइरहेको छ ।


पछिल्लो बढुवाको वरीयतामा जबर्जस्ती एक नम्बरमा रहेका कुँवर, दोस्रोमा रहेका राई र तेस्रो स्थानमा रहेका सिंह एकै ब्याचका हुन् । उनीहरु ५ चैत २०५१ चैत ५ गते प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थिए । चौथो स्थानका थापा एकै ब्याचका भए पनि उनले २०५२ भदौ १९ मा नियुक्ति पाएका थिए । २०५१ मा सेवा प्रवेश गरेकाहरु आईजीपी बनेमा २०८१ को चैतसम्म कार्यकाल रहनेछ । गृह मन्त्रालयले निर्वाचन आयोगसँग प्रहरीमा बढुवा सिफारिस, दरबन्दी थपलगायत विषयमा सैद्धान्तिक प्रक्रियाका लागि भन्दै अनुमति लिइसकेको खबर छ । 


त्यसैको आडमा अहिले एआईजी बढुवा गर्न खोजिएको छ । तर, नयाँ राजनीतिक जनादेश प्राप्त भई नयाँ सरकार गठन, नयाँ गृह मन्त्री बन्ने क्रममा रहेकाले प्रहरीको भावी नेतृत्वमा नै असर पर्नेगरी यसरी बढुवा गर्न‘ ठिक नहुने प्रहरीका उच्च अधिकारीहरु बताउछन् । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट विश्वराज पोखरेललाई आईजीपीको एकल दावेदार बनाउने गरी दुर्घटनामा मरेका डिआईजी भण्डारीको स्थानमा डीआईजी र एआईजीमा बढुवा गरेको थियो । तर, सरकारबाट ओलीको बहिर्गमन र शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन बनेसँगै पोखरेल डेढ वर्ष सिनियर एआईजी हुँदाहुँदै पनि आईजीपी बन्ने अवसरबाट बञ्चित भएका थिए ।


गठबन्धन सरकारले एआईजीमा अन्य अधिकृतहरुको बढुवा गरी धिरजप्रताप सिंहलाई आईजीपी बनाएका थिए । यसैबीच, प्रहरी प्रधान कार्यालयले २ हजार ६ सय नयाँ दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । जसमा एक डीआईजी, २ एसएसपी, ७ एसपी र २५ जना डीएसपी थप्ने प्रस्ताव गरिएको बताइएको छ । प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीआईजी, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी राख्ने तयारी गरिएको बताइएको छ ।


प्रहरी स्रोतका अनुसार, एआईजी बढुवामा भइरहेको चलखेलकै कारण उक्त प्रस्ताव गृह मन्त्रालयमा अड्किएको छ । दरबन्दी थपका लागि गृहसँगै अर्थ र कानून मन्त्रालयले पनि स्वीकृत गरेर मन्त्रिपरिषदबाट निर्णय हुनुपर्छ । तर, दरबन्दीको थपको आडमा पहिला एआईजी बढुवा गर्न खोजिएको स्रोतले बतायो । (साँघु साप्ताहिक, मंसिर १९)

प्रतिकृया दिनुहोस