काठमाडाैं । नेपाल प्रहरीमा हाल चार जना एआईजीपी दरबन्दी रिक्त रहेकाे छ । नयाँ सरकार बन्नु र नयाँ गृह मन्त्री आउनु अघि हतार हतारचार नेपाल प्रहरीका चार जना एआईजीपी बढुवा गर्ने तयारी गरिदैछ ।
चार जना एआईजीपी बढुवाका लागि गठबन्धन सरकारका काम चलाउ प्रधानमन्त्री शेरवहादुर देउवा र निर्वाचन हारेका गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीकाे संगठनमा फेरि हस्तक्षेप गरेर सबैभन्दा कनिष्ठलाई एआईजीपीमा बढुवा गर्ने तयारी गरेकाे गृह मन्त्रालय स्राेत बताउछ ।
रिक्त चार एआईजीपी पदमा बढुवाकाे लाइनमा तीन जना वरिष्ठ डीआईजीहरू रहेका छन् । नेपाल प्रहरीको जनपदतर्फ २०७९ चैत ११ गते अवकास हुने ती वरिष्ठ डीआईजीहरूमा नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ हुन् । चार रिक्त एआईजीपीमा बढुवा गर्दा वरिष्ठ डीआईजीहरूलाई अन्याय गर्नु नहुने प्रहरी संगठनकाे अडान रहेकाे स्राेत बताउछ ।
प्रधानमन्त्री शेरवहादुर देउवाका प्रमुख स्वकीय सचिवमा भानु देउवा भने वरिष्ठ डीआईजीहरूलाई पन्छाएर विवादस्पद मात्रै हाेइन रू. २ कराेड ३९ लाख चेक काण्डमा विभागीय कारवाहीका लागि सिफारिस भएका कनिष्ठ डीआईजी अशाेक सिंहलाई जसरी पनि एआईजीपीमा बढुवा गर्न लागि परेकाे गृह स्राेत बताउछ ।
कनिष्ठ डीआईजी अशाेक सिंहका लागि गृह मन्त्रालय पनि अनुकूल रहेकाे स्राेत बताउछ । डीआईजी अशाेक सिंहकाे आफ्नै परिवारका सदस्य तथा भाइ विनोद प्रकाश सिंह नै गृह सचिव रहेका छन् ।
एआईजीपी बढुवा सिफारिस समितिकाे अध्यक्ष नै गृह सचिव विनोद प्रकाश सिंह हुने भएकाले आफ्नाे दाइ डीआईजी अशाेक सिंह कनिष्ठ भएतापनि उनैलाई बढुवा गर्न दवाव दिने आशंका गर्न थालिएकाे छ । एआईजीपी बढुवा सिफारिस समितिकाे अध्यक्ष गृह सचिव विनोद प्रकाश सिंह र सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका सचिव र आईजीपी धिरज प्रताप सिंहकाे बाेर्डले बढुवाका लागि सिफारिस गर्नेछ ।
प्रतिस्पर्धामा को–को ?
रिक्त रहेको चार एआईजीपीमा बढुवा हुनका लागि डीआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशाेक सिंह, दीपक थापा, सन्दीप भण्डारी, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाललाई प्रवल दावेदार रहेका छन् ।
२०७७ वैशाख १८ गते एसएसपी बढुवा भएका अशाेक सिंह १९ नम्बर रहेकाे भए तापनि वरिष्ठ एसएसपीहरूलाई शक्तिकाे आडमा पेलपाल पारेर डीआईजीपीहरूकाे बढुवा हुँदा ३ नम्बरमा पर्न सफल भएका थिए । अहिले पनि २०७९ चैत अवकास हुने लाइनमा रहेका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँलाई एआईजीपी बढुवा गरेर आफू चार नम्बरमा पर्न चलखेलमा लागेकाे स्राेत बताउछ ।
अहिले चार नम्बरमा बढुवा हुने एआईजीपी २०७९ चैत ११ गते पछि वरिष्ठ एआईजीपी भएर आईजीपीकाे प्रतिस्पर्धामा एक नम्बरमा रहने छ । यसैका लागि अशाेक सिंहकाे दाैडधुप चलिरहेकाे स्राेत बताउछ । तर, समय खेल हाे, यस अघि एक नम्बर वरिष्ठमा रहेका एआईजीपी विश्वराज पाेखरेल आईजीपीमा बढुवा हुन नसकेर घर जान बाध्य भएका थिए ।




