काठमाडौं । आमनिर्वाचनको मिति नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरुलाई प्रचारप्रसारको राप र ताप छ यतिबेला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाताले अघिपछिको चुनाव भन्दा नयाँ ढाँचाको मतपत्र पाउने छन् । आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिन्ह भएको मतपत्र मतदाताको हातमा आउँदै छ । प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र छापिएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा निर्वाचन चिन्ह सहितको मतपत्र आउँदै छ । समानुपातिक निर्वाचन प्रणालीका लागि ४७ वटा दलले चुनावमा भाग लिएका छन् । निर्वाचन चिन्हको व्यवस्थापन पनि सोही अनुरुप गरिएको आयोगले जनाएको छ । तर प्रदेश सभाको समानुपातिकमा भने प्रदेश–प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको संख्या फरक फरक हुन्छ ।
प्रदेश नं १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र छापिइसकेको छ । सुदूरपश्चिममा निर्वाचनमा सहभागिताका लागि ५० वटा दलको निवेदन परेको छ । आयोगको रेकर्ड अनुसार १ नम्वर प्रदेशमा समानुपातिकतर्फ बन्दसूची बुझाउने दलको संख्या ३६ रहेको छ । यता मधेश प्रदेशमा पनि ३६ दलले वन्द सूची बुझाएका छन् । यता बागमती प्रदेशमा ४० दलले वन्द सूची बुझाएका छन् । गण्डकी प्रदेशमा ३१ दलले बन्दसूची बुझाएका छन् भने लुम्बिनी प्रदेशमा ३२ दलले पेश गरेका छन् । आयोगका अनुसार, प्रदेश नम्वर १, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशमा बन्दसूची पेश गर्नु अघि नै समानुपातिकतर्फको मतपत्र छापिएको थियो । यसरी यी चारवटा प्रदेशका लागि निर्वाचनमा सहभागिताका लागि निवेदन दिएका दलको निर्वाचन चिन्ह समेत राखिएको छ ।
यता कर्णाली प्रदेशमा २८ वटा निर्वाचन चिन्ह भएको मतपत्र छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र छपाई भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलले समानुपातिकतर्फको अन्तिम बन्दसूची बुझाएपछि मात्र मतपत्र छपाइ भएको थियो । कर्णाली र सुदूरपश्चिममा बन्दसूची बुझाउने दलको मात्र निर्वाचन चिन्ह मतदाताको हातमा आउने भएको छ । कर्णाली प्रदेशमा निर्वाचनमा सहभागिताका लागि निवेदन दिने दलको संख्या ४९ रहेको छ ।
यसपल्ट समानुपातिक निर्वाचनका लागि सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एउटै चुनाव चिन्हको व्यवस्था गरिएको छ । नौलो जनवादी पार्टी, नेपाल आमा पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीको पनि एउटै चुनाव चिन्ह भएको मतपत्र आउँदै छ । नेकपा समाजवादी, सामाजिक एकता पार्टी र नेपाल दलित पार्टीले पनि एउटै चुनाव चिन्ह पाउने छन् ।




