काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजीसीडीपी) परियोजनाका गाडीहरू महिनौंदेखि लावारिस छन् । एलजीसीडीपी परियोजनाले किनेका ती गाडी नयाँ नै देखिन्छन् । ती गाडी नेपालको विकासका लागि दाताहरूले खरिद गरेका हुन् ।
परियोजनाको काम सकिएपछि नेपाल सरकारले प्रयोग गर्न सक्छ । तर प्रयोग नगरी संघीय मामिला मन्त्रालय अगाडि राखिएका ती गाडी कवाडी बनिसकेका छन् । खिया लागिसकेका ती गाडीहरू करोडौं मूल्यका छन् । चलिरहेका गाडी महिनौंसम्म मन्त्रालय अगाडि राखेर पत्रु बनाउने काम संघीय मामिला मन्त्रालयले गरेको छ ।
नेपालको विकासका लागि दाताले दिएको बजेट यस्तै महंगा गाडी खरिद गरी आधाउधी सकिन्छ । दाताको सहयोगमध्ये गाडी खरिद, प्रशासनिक खर्च र विदेश भ्रमणको हिसाब गर्दा विकासमा २५ प्रतिशत बजेट पनि सदुपयोग नहुने गरेका तथ्य पनि सार्वजनिक हुने गरेका छन् ।
दाताले गरिब देशको विकासका लागि दिएको बजेटको ठूलो हिस्सा गाडी, फर्निचर, ल्यापटप जस्ता सामान खरिदमा जान्छ । परियोजना सकिएपछि ती गाडी न सरकारले चलाउँछ, न त लिलाम नै गर्छ । लिलाम गरे पनि राम्रो मूल्यमा हुन्छ । तर लिलाम नै नगरी सरकारको सम्पत्ति यसरी खेर गइरहँदा पनि सरोकारवाला निकायले ध्यान पु¥याउन सकेको छैन । जसका कारण मुलुकको शासन संचालनको केन्द्र सिंहदरवारमा हरेक मन्त्रालय अगाडि कवाडी गाडी हुन्छन् । त्यसले गर्दा सिंहदरवारको शोभा नै बिगार्ने काम गरेको छ ।
संघीय मामिला मन्त्रालय मात्र होइन, परराष्ट्र मन्त्रालय अगाडि पनि त्यस्तै कवाडी गाडीहरू राखिएका छन् । ती कवाडी गाडी लिलाम नगरेका कारण पत्रु भइसकेका छन् । र, रुखपात र झारले ढाकिएका छन् ।



