काठमाडौं । ग्लोबल आइएमई बैंकले तराईलगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुरयाउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा २०७४ भदौ २ गते शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका छन् । कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट रु. ५१ लाख तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरी कुल रु. ६५ लाख रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायबप्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष ढकालले विगतमापनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराउँदै अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको जानकारी दिएका थिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । साथै, बाढी पहिरो पीडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावहरुले ”प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबार” को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खातानम्बर ”०४११०१००००००५”मा बैंकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको समेत बैंकले जानकारी गराएको छ ।



