काठमाडौं । समाज कल्याण परिषद् । नामले नै यसको पवित्र दायित्व दर्साउँछ, झल्काउँछ । धेरैलाई नाम सुनेर लाग्न सक्छ, यहाँ हुने सबै गतिविधि समाज र राष्ट्रको हितलाई केन्द्रमा राखेर गरिन्छ । खासमा हुनुपर्ने यस्तै भएपनि यो संस्थामा ‘आफ्नै कल्याण’का कामले ज्यादातर महत्त्व र स्थान पाउन थालेका छन् । परिषद्को ‘धन’माथि दाइँ गर्नेदेखि आफन्तलाई जागिर लगाउनेसम्मका कैयन अनियमित काममा परिषद् हाँक्ने शपथ खाएकाहरू ज्यान फालेर लागेका छन् ।
परिषद्का गतिविधिलाई लिएर आलोचना भइरहेका बेला परिषद्का एक पदाधिकारीले संस्थाका अन्य पदाधिकारीलाई नै गुमराहमा राखेर अनेक अनियमितता गरेको तथ्य साँघुले फेला पारेको छ । परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्ना अनियमित कामको रेकर्ड बनाउन सफल भएका छन् । कोषलाई आफ्नै बगौतीजस्तै ठानेर ठगुन्नाले पदीय मर्यादाविपरीतका गतिविधि गरे पनि उनलाई नियन्त्रण तथा नियमन गर्न कसैले चासो दिएका छैनन् ।
परिषदको धनमा दाइँ
अनियमितता मच्चाउनकै लागि परिषद्मा नियुक्ति भएजस्तो गरी प्रस्तुत हुँदै आएका ठगुन्नाले आफ्नै ‘हात जगन्नाथ’ गर्दै परिषद्को लाखौं रकममा ‘तर’ मारेको प्रमाण साँघुलाई प्राप्त भएको छ । उनले बैंकहरूले तरलता अभाव झेलिरहेको बेला प्रभु बैंकमा कम व्याजदरमा रकम राखेर परिषद्माथि विश्वासघात गरेका हुन् ।
बढी व्याजदरमा मौजदात रकम राख्न सकिने भएपनि उनले कमिसनमा बिकेर ६ करोड रुपैयाँ ३ वर्षका लागि प्रभु बैंकमा राख्ने सहमतिपत्रमा ल्याप्चे धस्काएका छन् । संस्थागतरुपमा निर्णय गराउनुपर्ने भएपनि ठगुन्नाले परिषद्का कोही कसैलाई जानकारी नै नदिई यति ठूलो धनराशी बिना प्रतिस्पर्धा निजी बैंकलाई सुम्पेका हुन् ।
‘परिषद्का कोषाध्यक्षले संस्थागत निर्णय गरेर कार्यसम्पादन गर्नुपर्ने भएपनि आफ्नै घर चलाएजस्तो गरी ६ करोड रुपैयाँ बैंकमा लगेर राखेका छन्’, परिषद्का एक कर्मचारीले साँघुसंग भने, ‘यसमा कोषाध्यक्षको ठूलो दुर्नियत लुकेको देखिएकाले छानबिन हुनुपर्छ ।’ स्रोतका अनुसार, परिषद्मा नियुक्त भएर आएदेखि आफ्नै कल्याणमा केन्द्रित ठगुन्नाले प्रभु बैंकबाट राम्रै आर्थिक लाभ लिएको आरोप छ । परिषद्मा कार्यरत एक एमालेनिकट कर्मचारीका अनुसार, तरलताकै बीच ६ करोड रुपैयाँ राखेबापत प्रभुले ठगुन्नालाई २५ लाख रकम न्यून ब्याजदरमा उपलब्ध गराएको छ ।
छोरी–ज्वाइँलाई जागिर
परिषदको कोषाध्यक्षमा नियुक्त भएपछि ठगुन्नाले लिन सक्ने जति सबैखाले लाभ लिएका छन् । यसको बलियो प्रमाण उनले परिषद्मा गरेको नियुक्ति हो । माले महासचिव सीपी मैनालीको निगाहमा परिषद् कोषाध्यक्षको जिम्मेवारी पाएका ठगुन्नाले कार्यकर्ता मात्रै होइन, आफन्तलाई समेत जागिर खुवाएका छन् । ठगुन्नाले छोरी उर्मिला र ज्वाइँलाई करारनामा गराएर नायव सुब्बा तहमा जागिर खुवाएका हुन् ।
उनका छोरी र ज्वाइँ दुवै अहिले परिषद् अन्तर्गतको अपांग कोषमा कार्यरत छन् । स्रोतका अनुसार, उनले अन्य केही व्यक्तिहरूलाई समेत पदको दुरुपयोग गर्दै परिषद्मा जागिर खुवाइरहेका छन् ।
लाइसेन्सबिनै गाडीमा सरर
सवारी सञ्चालनका लागि लाइसेन्स अपरिहार्य हुन्छ । चालक अनुमतिपत्र बिनै सवारी चलाएको पाइएमा जोकोही कारबाहीमा पर्छ । तर चालक अनुमतिपत्रबिनै ठगुन्ना राजधानीमा हुइँकिंदै आएको समाचार स्रोतको दावी छ । रोचक त के छ भने परिषदले किनेको नयाँ गाडी १५ दिनमै उनले ठोक्काएर क्षत–विक्षत पारिदिएका छन् । परिषद् स्रोतका अनुसार, यसको मर्मतमा नै परिषद्ले ६ लाख खर्च गर्नुपरेको छ ।
बगैंचामा ठगुन्ना दिल …!
परिषद्मा सक्ने जति अनियमितता गरेका ठगुन्नाले रसरंगमा पनि आफूलाई उत्तिकै अख्बल सावित गरेको कर्मचारीहरू बताउँछन् । कतिसम्म भने कार्यालयको तल्लोतहमा कार्यरत कर्मचारीलाई नै उनले आफ्नो दिलको माली बनाएर डुलाउँदै हिंड्ने गरेको कर्मचारी स्रोत बताउछ । परिषद् कोषाध्यक्षको यो हर्कत हिजोआज कर्मचारीहरूको दिन काट्ने गतिलो मसला बनेको छ ।
अझै रमाइलो त के छ भने केही समय अघिसम्म छोरीलाई पीए राखेका उनले एकजना तल्लो तहकी कर्मचारीसंग हिमचिम शुरु भएसंगै छोरीलाई पीएबाटै आउट गरिदिएका छन् । बुढ्यौली प्रेममा तगारो बनेकी छोरीलाई उनले परिषद् मातहतको अपांग कोष, भृकुटीमण्डपमा सरुवा गरिदिएका हुन् । स्रोतका अनुसार, बाबुको रसरंग स्वभावको छोरीले कडा प्रतिवाद गरेपछि कार्यालयमै लफडा परेको थियो ।
लगत्तै उनले छोरीलाई भृकुटीमण्डपस्थित कोषको कार्यालयमा सरुवा गरिदिएको गाइँगुइँ परिषद्तिर चलेको छ । छोरीलाई भृकुटीमण्डपमा सरुवा गरेर अवरोधविहीन ठगुन्नाले ज्यादातर समय तिनै महिला कर्मचारीलाई गाडीमा डुलाएर बिताउने गरेको परिषद्का प्रत्यक्षदर्शी कर्मचारी बताउँछन् । ती कर्मचारीले उनको यस्तो हर्कतले …गर्नेलाई भन्दा पनि देख्नेलाई लाज भनेजस्तो भएको गुनासो साँघुसंग गरे ।
आफैं बोक्सी, आफैं धामी
ठगुन्नाका अनैतिक र अपारदर्शी गतिविधिले उनी बदनाम बन्दै गइरहेका छन् । परिषद्का कर्मचारीहरू समेत उनका यस्ता गतिविधिबाट कसरी उन्मुक्ति पाउने भनेर सोचमग्न भइरहेको अवस्था छ । तर ठगुन्ना आफैं बोक्सी, आफैं धामी आहानको चरितार्थ हुने गरी परिषदका अन्य पदाधिकारीले अनियमितता गरेको उजुरी बोक्दै अख्तियार, सतर्कता केन्द्रलगायतमा दगुर्ने गरेको आरोप छ ।
उदेक लाग्दो कुरा त के छ भने इमान, नैतिक र मूल्यको राजनीति गरेर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीमा पुगेकी ठममाया थापा मगरलाई समेत उनले भ्रम जालमा पार्दै आइरहेको चर्चा छ । ठगुन्नाले परिषद्मा एकपछि अर्को अनैतिक काम गरेर संस्थाको साख गिराउने काम गरिरहेका भएपनि यसतर्फ मन्त्रीले ध्यान नदिएको कर्मचारीहरूको गुनासो छ ।
को हुन् ठगुन्ना ?
ठगुन्ना पेशाले शिक्षक हुन् । केटाकेटी पढाउँदै उनले लामो कालखण्ड दार्चुलाको विद्यालयतिर लर्खरिएर बिताए । माले पार्टीमा उनी संगठित भएपनि यसको खासै प्रभाव नभएकाले उनको हैसियत एक शिक्षककै रुपमा सीमित थियो, लामो समयसम्म ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि माले महासचिव सीपी मैनालीलाई कुनै बेलाका उनका जुनियर कार्यकर्ताको सरकारमा जाने अवसर जु¥यो । उनी ओली नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री भए, ठगुन्नालाई पनि मैनालीलाई जस्तै चिठ्ठा प¥यो, समाज कल्याण परिषद्को कोषाध्यक्ष ।
मैनाली नेतृत्वको मालेमा संगठित दार्चुलाका ठगुन्नालाई सीपीले बोक्नै नसक्ने समाज कल्याण परिषद कोषाध्यक्षको भारी बोकाइदिए । परिषद् जस्तो महत्त्वपूर्ण ठाउँमा नियुक्ति पाएका ‘मास्टर’ ठगुन्नाले यसको सदुपयोग गरेर देश र जनताको भलाइमा आफूलाई समर्पित गर्न सक्थे ।
तर, उनले आफ्नो पदलाई कहिल्यै सदुपयोग गरेनन् । बरु व्यक्तिगत लाभका लागि उपयोग गरिरहेका छन् । त्यसकै दुष्परिणाम पछिल्ला दिनहरूमा परिषद्भित्र देख्न थालिएको चर्चा छ ।



