• बिहीबार-बैशाख-१३-२०८१

सीआईए काठमाडौं कनेक्शन–रहस्यमय एयरपोर्ट  

‘बैसठ्ठी(६२)वर्ष पहिले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले हिमालय भारतको सीमाना हो भन्ने गर्दथे’, महावीर पौडेल २०७६ वैशाख ११ गते बुधबारको माई रिपब्लिकामा लेख्नुहुन्छ । अमेरिकन लेखक लियो रोजको ‘स्ट्राटेजी फर सर्भाइभलको उद्धहरण दिँदै लेख्नुहुन्छ, ‘काठमाडौं–कोदारी राजमार्ग राजा महेन्द्रले चाहेर जन्मेको होइन, तर चीनले चाहेर बनेको हो । चीन जाँदा राजा महेन्द्रको एजेण्डामा यो थिएन, केवल सीमा सन्धि थियो ।’ 


लियो रोज ‘स्ट्राटेजी फर सर्भाइभल’मा लेख्दछन्, ‘चीनले भन्यो–यदि काठमाडौं–कोदारी सडक सम्झौता भएन भने सीमा सन्धि पनि हुँदैन । राजा महेन्द्रले चीनका तत्कालीन राष्ट्रपति लिउ शाउ चीसँग सीमा सन्धिमा हस्ताक्षर गरे । तर, सँगै गएका मन्त्री डा.तुलसी गिरीलाई काठमाडौं–कोदारी सडक चीनले नै चिनियाँ मान्छेहरु र इन्जीनियरहरु भई बनाईदिने सम्झौतामा सही गर्न लगाए । 


 यसरी एकातिर अमेरिकन राष्ट्रपति आइशन हावरलाई विपी कोइराला प्रधानमन्त्री रहँदै उपप्रधानमन्त्री जर्नेल सुवर्णशमशेर जबरालाई २० मिनेट बाहिर राखी गोप्य वार्तामा राजा महेन्द्रले तानाशाही शासन खडा गर्ने कुराको समर्थन साटासाट गर्ने वचनबद्धता गरिसकेका थिए भन्ने कुरा घटनाक्रमहरुले देखाउँदछ । तर, राजा महेन्द्र र अमेरिकी राष्ट्रपति आइशन हावर माझ के वान टु वान कुरा भयो आजसम्म पनि डिक्लासिफाइड भएको छैन । सन् १९५३ मा इरानमा संसदीय प्रजातन्त्र समाप्त पारी राजा पहलवी शाहलाई सैनिक ‘कू’ गर्न उचालेर शासन सत्ता आफ्नो हातमा लिन गरिएको षडयन्त्र उनान्सत्तरी (६९) वर्ष पछि अमेरिकाले स्वीकार गरेको पाइन्छ । 


 आज पनि नेपालमा धेरै जनालाई जानकारी छैन कि कुनै बेला काठमाडौं शहरमा एउटा होइन दुईवटा एयरपोर्ट थियो । यी राजा महेन्द्रको पञ्चायती शासनका दिनहरु थिए । काठमाडौंको एउटा एयरपोर्टमा अमेरिकाको एयर अमेरिकाका साना साना हवाईजहाजका बारेमा भारतस्थित कलकत्ताको अमेरिकन कन्सुलेटले काठमाडौंस्थित अमेरिकन दूतावासका लागि पठाएको चिज, केक, कोकाकोला र अमेरिकन उपभोगका सामाग्रीहरु लग्ने जहाज हो भनिन्थ्यो ।

 

त्यो बेला त्रिभुवन विमानस्थलमा कलकत्ताको कन्सुलेटले पठाएको र एयर अमेरिकामार्फत आएको सानो हवाईजहाज उत्रिन र उड्ने ठाउँ प्रशस्त थियो । तैपनि किन त्रिभुवन विमानस्थलको पूर्वपट्टी त्रिभुवन विमानस्थलकै समानान्तर विमानस्थल बन्यो ? अर्को रहस्यमय कुरा के छ भने, काठमाडौं शहरकै पश्चिम भागमा कुनै इमिग्रेशन कर्मचारी, कुनै भन्सार कस्टम कर्मचारी, कुनै एकजना पनि पुलिस भनौ सुरक्षा अंगका कर्मचारी नरहने गरी काठमाडौंको हलचोकमा बेग्लै एयरपोर्ट बनाउन र अमेरिकालाई र १३ वर्षसम्म निर्वाध सञ्चालन गर्न किन दिइयो ? 


अमेरिकाकै पत्रकार र लेखकका पुस्तकहरु अनुसार, काठमाडौंको हलचोकमा बनेको त्यो विमानस्थल एयर अमेरिकाका सीआईएको क्यामा फ्लेज (छकाउने काम गर्ने चाँजोपाँजो तथा बन्दोबस्ती) बमोजिम सीआईएद्वारा खडा गरिएको अमेरिकन हवाईहाज कम्पनी थियो । के १२/१३ वर्ष काठमाडौंको हलचोक एयरपोर्ट अमेरिकनहरुले बनाएको र अमेरिकन हवाईहाज कम्पनी एयर अमेरिकाले एकलौटी अपरेट गरेको त्यो समयका सर्वाेच्च शासक राजा महेन्द्रलाई थाहा थिएन ? 


(विस्तृत विवरणहरुका पढ्न इच्छुकका लागि :) 

१) स्पाइज इन हिमायलज सेक्रेट मिसन्स् एण्ड पेरिलियस क्लाइम्बस् । 
२) एरेस्टेड हिस्ट्रिज..तिब्बत : द सीआईए एण्ड मेमोरिज अफ ए फरगटन वार’ (लेखक : क्यारोल म्याक ग्रानहन) 
३) ‘तिबेटन डायरी’ लेखक जिओम्फ चाइल्ड्स
४) ‘वार एयाट द टप अफ द वल्र्ड (लेखक : एरिक एस मार्गाेलिस)
५) ‘अरफ्यान्स् अफ द कोल्ड वार’ : लेखक जोन केनेथ नाउस इत्यादि पढ्दा र युरोप, जर्मनी, बेलायत, अमेरिका पुगेका दलाई लामाको पछाडि लाग्दै भारत र नेपाल हुँदै धेरै विदेशमा पुगेका सन्तानहरुको लेख, निर्मित डकुमेन्ट्रीहरु इत्यादि पनि छन् । 

प्रतिकृया दिनुहोस