• बिहीबार-चैत-१५-२०८०

अनुभूतिलाई अभिव्यक्त गर्ने तृष्णामा छु : ज्ञानेन्द्र विवश

 

साहित्य र कला साधनामा सधैँ तल्लिन एक साहित्य सर्जक र कलाकार हुने ज्ञानेन्द्र विवश । आफूलाई कला र साहित्यमा अब्बल तरिकाले चिनाउन सफल विवश खोटाङे माटोको उपज हुन् । शब्दको मोहकतामा रमाउँदा अनुभूतिको तृष्णा अभिव्यक्त गर्ने उनी कलामा रंगसँगै कल्पना र यथार्थता चित्रमा कोर्छन् ।


लेखकको रूपमा आउँदा आफूजस्तै अरुको सिर्जनाको मायाँ गर्ने उनको विशेषता छ । अरुका रचनालाई आफ्नै जस्तै गरेर प्रेम गर्नु उनको महानता हो । कलाको रचना गर्दा अग्रजलाई सम्मान र अनुजलाई अभिप्रेरणाको त्यो आत्मियता पनि छँदैछ । त्यही भएर होला निबन्ध लेखुन वा कला चित्र ती प्रायः अग्रजका बारेमा लेखिएको पाइन्छ । यसले एकातर्फ ऊर्जाको काम गर्छ भने अर्कोतर्फ अग्रजको कामको सम्मान र लिपिबद्ध । यो काममा लागेको झण्डै तीन दशक पूरा हुन लागेको छ ।


साहित्य र कलामा लागेका उनको प्रशासनिक भूमिका भने नजिकबाट चिनेकाले मात्र थाहा पाउँछन् । कला, साहित्यको अलवा उनी कहाँ के गर्छन भन्ने कुरा धेरैलाई थाहै छैन । विज्ञापन भन्दा साधना ठूलो कुरा हो भन्ने सिद्धान्तका कारण आफ्नो चर्चा होस् भन्ने चाहना कहिल्यै राख्दैनन् पनि । 


यति हुँदा हुँदै पनि कलामा होस् वा शब्दमा उनले गरेको काम सधैं उत्कृष्ट रहेको पाइन्छ । यो अन्तर मनको संवेगले अह्राएका कारण संभव भएको हो । देखावटी रूपमा गरेका भए यो संभव थिएन भन्ने कुराको पुष्टि गर्ने आधार यही हो । 


उनको जन्म खोटाङ जिल्लाको साविक चिसापानी गा.वि.स. वडा नं. ८, हाल जन्तेढुङ्गा गाउँपालिका वडा नं. ५, चिसापानीमा  वि.सं. २०२७ असार १२ गते भएको हो । हाल उनी महालक्ष्मी नगरपालिका–५, टिकाथली, सिद्धार्थ टोलमा स्थायी बसोबास गर्छन् ।


गद्य कविताको क्षेत्रबाट साहित्यमा प्रवेश गरेका विवशले स्कूले जीवनदेखि साहित्य र चित्रकलामा सिर्जनात्मक कर्म गर्दै आएका छन् । उनले माध्यमिक तहको अध्ययनकालमा रेडियो नेपालको बाल कार्यक्रममा आफ्ना रचनाहरू हुलाकमार्फत् पठाउने गर्थे । रेडियो नेपालबाट आफूले लेखेका रचना प्रसारण हुँदाको खुसीसँगै त्यसबाट प्रोत्साहित हुँदै लेखनमा झन् बढी सक्रिय हुँदै आएको उनी बताउँछन् ।

 

त्यसो त गाउँमै छँदा राजधानीबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरू जस्तै समीक्षा, ओइरो, मातृभूमि, नेपाल जागरण, नयाँ सन्देशलगायत गोरखापत्र दैनिकको शनिबार परिशिष्टाङ्कमा उनले बालरचनाहरू छपाएका छन् । उनी आफूलाई अनुभूतिलाई अभिव्यक्त गर्ने तृष्णा बोकेर बाँचेको मान्छे भन्न पनि मन पराउँछन् । 


साढे तीन दशक लामो कला साधना र साहित्य लेखनमार्फत विवश अन्तर्राष्ट्रिय स्तरसम्म चिनिएका छन् । बोल्दा सटिक तरिकाले प्रस्तुत हुने र जिम्मेवारीमा सधैं अब्बल रहने उनी कला क्षेत्रका लागि एक सशक्त कलाकार र निबन्ध विधाका लागि प्रेरक लेखक हुन् । 

 

विवशका प्रकाशित कृतिहरू
निबन्ध सङ्ग्रह

संवेदनाका स्वरहरू (वि.सं. २०५४) संयुक्त, क्यानभासका तरङ्गहरू (वि.सं. २०५५), मृत्यु उत्सव (वि.सं. २०६०),आवृmतिको आवाज (वि.सं. २०६१), सुन्दरीचोक (वि.सं. २०७५) 


नियात्रा सङ्ग्रह
राराकी अप्सरा (वि.सं. २०५८),प्रणय र पाइला (वि.सं. २०६१),अन्नपूर्णाका विम्बहरू (वि.सं. २०७०)


जीवनी सङ्ग्रह
प्रसिद्ध अग्रज नेपाली चित्रकार (वि.सं. २०७०),प्रसिद्ध नेपाली पौभाः कलाकार (वि.सं. २०७०),प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के (वि.सं. २०७६),कलाकार सिद्धिमुनि शाक्य : जीवन र कला (वि.सं. २०७७) ,प्रतिनिधि नेपाली कलाकार (वि.सं. २०७८)


संस्कृतिः
–साँखुका सम्पदा र वास्तुकला (वि.सं. २०७५) गरी १४ वटा कृति प्रकाशित रहेका छन् ।


प्रकाशनको तयारीमा रहेका कृतिहरू
अर्धकद्को अवसान, निबन्ध सङ्ग्रह, आँखा पछ्याउँदै पाइलाहरू, नियात्रा सङ्ग्रह र कलाकार हरिप्रसाद शर्मा : जीवन र कला जीवनी सङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।


लेखनका मुख्य विधा र सिर्जना 
लेखकको छुट्टै पहिचान बनाएका ज्ञानेन्द्र विवश नेपाली साहित्य लेखनमा कला निबन्ध र निबन्ध प्रमुख रहेका छन् । नियात्रा र संस्कृति विषयक लेखनमा पनि उनको कलम सशक्त छ । कला निबन्ध उनको मुख्य विधा हो । उनी चित्रकला सिर्जनामा पनि फुर्सदको समयलाई उपयोग गर्छन् । नेपाली कला समीक्षा, नियात्रा, निबन्ध र संस्कृति लेखनमा पनि उनको निरन्तर सेवा प्रसंशनीय रहिआएको छ । 


उनले विभिन्न साप्ताहिक तथा दैनिक पत्रपत्रिकाहरूमा साहित्य र कलाको स्तम्भ लेखेका छन् । त्यस्तै साहित्यिक पत्रिका मधुपर्क र गरिममा पनि लामो समयसम्म कला स्तम्भ लेखको छन् । रेडियो नेपालको लोकप्रिय कार्यक्रम साहित्य संसारका लागि उनले विभिन्न ऋतु, महिना, स्थानलगायत जीवन र प्रकृतिका विविध आयामसँग सम्बद्ध निबन्धहरू प्रशस्त लेखेका छन् । विभिन्न कलाप्रदर्शनीमा सहभागी हुँदा कला विषयका कार्यपत्रसमेत प्रस्तुत गर्ने गरेका छन् । रेडियो र टेलिभिजनमा लामो समय काम गरेको अनुभव पनि विवशले संगालेका छन् ।

 

उनले हालसम्म पाएका मुख्य पुरस्कार र सम्मानहरू :
१. अरनिको युवा कला पुरस्कार (वि.सं. २०६१)

२. शङ्कर लामिछाने राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०५८)

३. नेपाली ललितकलामा पु¥याएको योगदानका लागि, साधना सम्मान, (वि.सं. २०६३) 

४. रावासावा प्राज्ञिक समाजबाट ‘रावासावा बोलराज, सुशीला कला पुरस्कार’ (वि.सं. २०७६) सरकारी सेवा गरेवापत, काठमाडौँ महानगरपालिकाले विवशको कामको उच्च मूल्याङ्कन गर्दै २०६९ सालमा उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको थियो ।  

 

विवशको साहित्यिक संस्थामा योगदान
उनी ललितकला समीक्षक समाजका संस्थापक महासचिव, साहित्य सिर्जना प्राङ्गणका संस्थापक सदस्य छन् । एक व्यक्तिभित्र निबन्धको प्रतिभाका साथै लेखनमा सधैँ समर्पित उनी हाल काठमाडौं महानगरपालिकामा सहायक निर्देशक (अधिकृत सातौँ) पदमा कार्यरत छन् । यसरी कला, साहित्यकार र प्रशासक रहेका सर्जक विवशको वास्तविक नाम ज्ञानेन्द्र श्रेष्ठ हो ।

प्रतिकृया दिनुहोस