• बिहीबार-चैत-१५-२०८०

कुँवरलाई हटाएर खत्रीलाई जिम्मेवारी : छ्यालिस जना कांग्रेस कार्यकर्ता भर्ती ?

काठमाडौं । नेपाल खानेपानी संस्थानको कर्मचारी पदपूर्ति समितिका अध्यक्ष नीरकुमारी कँ‘वर दर्लामीलाई हटाएर खानेपानी मन्त्रालयका सहसचिव तिरेशकुमार खत्रीलाई पदपूर्ति समितिको अध्यक्ष बनाएर मन्त्री चौधरीले कांग्रेस निकट ४६ जना कर्मचारी भर्ति गर्ने तयारी गरेका छन् । 


समाचार स्रोतका अनुसार, संस्थानका अध्यक्ष गुणखर भुसालले गत २०७८ चैत्र १ गते एकदेखि ३ तहसम्मका विभिन्न पदका ४६ कर्मचारी भर्ना गर्न दर्खास्त आव्हान गराएका थिए । सो सूचनामा १ हजार १ सय ५८ जनाको दर्खास्त परेको थियो । त्यसको लिखित र मौखिक परीक्षा सकिएको छ । अन्तिम परिणाम प्रकाशित हुन लागेको छ । रिजल्टका लागि मन्त्री चौधरीले ४६ जनाको नामलिष्ट पठाएको स्रोत बताउछ । कर्मचारी पदपूर्ति समितिले तिनै नामलाई उत्तीर्ण भएको भनी केही दिनभित्रै सूचना प्रकाशित गर्दैछ ।


सरकार मातहत रहेको संस्थानमा कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगको परामर्शमा आयोगको प्रत्यक्ष निर्देशनमा लोकसेवाका प्रतिनिधिलाई पदपूर्ति समितिमा राखेर स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले लिखित र मौखिक परीक्षा लिई उत्तीर्ण गराउनुपर्ने प्रावधान छ । लिखित र मौखिक परीक्षाका तीनवटा परीक्षा केन्द्रमा मन्त्री चौधरीले पास गराउनुपर्ने व्यक्ति भनी ४६ जनाको नामलिष्ट किटान गरी पठाएको बताइएको छ ।


स्रोत भन्छ, उत्तर लेख्न सहज बनाउने, नजानेको कुरा सिकाई दिने, यसको उत्तर यो लेख भनी सिकाउने गराएका थिए । मौखिक परीक्षामा पनि मन्त्री चौधरीले पठाएकै नामलाई उत्तीर्ण गराईएको छ । पदपूर्ति समितिमा विवाद भएपछि मन्त्रालयकी उपसचिव ईन्द्रकुमारी थपलियाले म बस्दिन भन्दै राजीनामा दिएकी थिइन् । उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड निकट कर्मचारी हुन् । खानेपानी मन्त्रालय आउनुअघि उनी माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेकी थिइन् । 


थपलियाले पदपूर्ति समितिमा बस्न नमानेपछि उनको ठाउँमा मन्त्रालयकै अर्का उपसचिव वशिष्ठ नारायण घिमिरेलाई सदस्यमा राखिएको थियो । नाममात्रको लिखित र मौखिक परीक्षामा मन्त्रीका केही आफन्त र अरूलाई मन्त्रीले छाडेका बिचौलियाले ५ लाखदेखि ७ लाख रूपैयाँसम्म रकम उठाएर लिखितमा पास गरिएको चर्चा छ ।  मौखिक परीक्षामा पनि उनीहरूको नाम उत्तीर्णमा चयन भइसकेको छ ।


स्रोतका अनुसार लिखित र मौखिकमा उत्तीर्ण गराउन मन्त्री चौधरीले संस्थानका अध्यक्ष भुषालमार्फत पदपूर्ति समितिमा पठाइएका नामहरूमा आशिष चौधरी, त्रिपुरेश्वर चौधरी, धर्मराज चौधरी, रामविश्वास चौधरी, प्रदीप कुमार रजक, राहुल चौधरी, सञ्जय चौधरी, सुनिल कुमार थारू, रामप्रसाद हरिजन, मेनका चौधरी, दीपक चौधरी, अमलेन्द्र कुमार यादव, सुष्मा झा, विवेक चौधरी, जयनारायण महतो, बैजु चौधरी, लक्ष्मी नारायण गडेरी जस्ता थारू समुदायका रहेका छन् । यसरी ४६ जनामा १७ जना मन्त्रीका आफन्त र जिल्लाबासी चौधरी र थारू समुदायका उत्तीर्ण  हुँदैछन् ।


यसैगरी उत्तीर्ण गराउनुपर्ने सूचीमा बालुवाटारमा कृष्णप्रसाद सिटौलाले पठाएको सूचीबाट मोतीलाल पुन, सुवास ठकुरी, समीर लामा, तिर्थ थापा, अर्चना अधिकारी धामी, मञ्जु अधिकारी, गणेश बहादुर भण्डारी, मेघराज राना, अनिल विश्वकर्मा, गीता घिमिरे र सुमन थापालगायत परेका छन् । यी नामबाट उत्तीर्ण गराउने तयारी पूरा भएको छ । यिनीहरू सबैलाई नियुक्ति लिन तयारीमा बस्न मन्त्री चौधरीले भनिसकेको स्रोतको दाबी छ ।
 

प्रतिकृया दिनुहोस