सुदूरपश्चिम, १७ भदौ (रासस) : सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।
आज बसेको प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गरिएकोसम्बन्धी पत्र वाचन गर्दै जारी दशौँ अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभयो ।
आजको बैठकले ‘सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ती जोशी, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवँर र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पाँच वर्षअघि भएको निर्वाचनपछि गठन भएको पहिलो प्रदेशसभाको कार्यकालको यो अधिवेशन अन्तिम हो ।
बैठकमा समसामयिक विषयमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गएको साढे चार वर्षको कार्यकालमा प्रदेश सरकार सङ्घीय व्यवस्थालाई स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुको अवस्थामा आवश्यक कानून र कर्मचारीको अभावका कारण सोचेजति काम गर्न नसके पनि त्यसपछिको समयमा महत्वपूर्ण काम भएका छन् ।”
सङ्घीय व्यवस्था सहरमा होइन गाउँमा खोज्न जरुरी रहेको भन्दै उहाँले सङ्घीय व्यवस्थाका विरोधी तत्वप्रति सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।
अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं आन्तरिक मामिलामन्त्री रणबहादुर रावल, नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, प्रतिपक्षी दल नेकपा (एमाले)का प्रकाशबहादुर शाह, जनता समाजवादी पार्टीका मालामति राना र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले पनि समसामयिक विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।




