(देवेन्द्र पौडेललगायतका १४ नेताले केही दिनअघि पत्रकार सम्मेलन गरेर परिवर्तनशील पार्टीहरूबीच ध्रुवीकरण हुनुपर्ने मत सार्वजनिक गरेपछि नयाँ शक्ति पार्टीभित्र असन्तुष्टि चुलिएको छ । नयाँ शक्तिले २०७४ साउन २७ गते एक विज्ञप्ति जारी गरेर पत्रकार सम्मेलन पार्टी नीतिविपरीत भएको भन्दै १४ नेतासंग स्पष्टीकरण नै सोधेको छ । बाबुरामलगायत नेताको ठहर छ–देवेन्द्र पौडेललगायत नेता अरु कसैको इशारामा पार्टी हितविपरीत अघि बढिरहेका छन् । यसैसंग जोडेर नयाँ शक्तिभित्र र बाहिर देवेन्द्रलगायत नेता माओवादी केन्द्रमा फर्किन लागेको चर्चा, परिचर्चा भइरहेको छ । यसै सन्दर्भमा हामीले नयाँ शक्तिभित्र अलग समूहको नेतृत्व गरिरहेका देवेन्द्र पौडेललाई भेटेर नयाँ शक्तिभित्रको विवाद, उनको भावी योजनालगायत विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः सम्पादक)
नयाँ शक्तिबारे धेरै किसिमका कुराहरू बाहिर आइरहेका छन् । तपाईंको पार्टीमा भएको खास विवाद चाहिं के हो ?
–छलफल र बहसबिनाको पार्टी जीवन्त हुन सक्दैन । त्यसैले हरेक जीवन्त पार्टीमा छलफल र बहसहरू भइराख्छन् । नयाँ शक्ति पार्टी एउटा जीवन्त राजनीतिक दल भएकाले योभित्र छलफल र बहस हुन्छन् भइरहेका पनि छन् । अहिले हाम्रो पार्टीमा भएको पनि त्यही छलफल र बहस हो । अब कुन कार्यदिशा र बाटोबाट अघि बढ्ने भन्ने स्पष्ट गर्न हामीले पार्टीभित्र छलफल र बहस चलाएका हौं ।
किन अहिले नयाँ शक्ति हिंडेको बाटो र कार्यदिशा सही भएन र ?
–कमीकमजोरी र अपुगता सबैमा हुन्छ । नयाँ शक्ति त्यसको अपवाद हुन सक्दैन । यसका पनि आफ्नै कमी–कमजोरीहरू छन् । त्यस्ता अपूर्णता र कमजोरीलाई सही कार्यदिशामार्फत संबृद्ध बनाउनुपर्छ भन्ने मलगायत साथीहरूको मत हो ।
हिजो जुन उत्साहका साथ नयाँ शक्तिमा लाग्नु भएको थियो, अहिले अलि बढी निराश बन्नु भएको हो ?
–हामी नयाँ शक्ति निर्माण गर्ने कुरामा अत्यन्तै उत्साहित छौं । हिजो जुन रफ्तारमा नयाँ शक्ति निर्माणष्ध गर्ने भन्दै लागेका थियौं, आज पनि त्यसरी नै लागिरहेका छौं । सबैजना प्रष्ट भए हुन्छ, हामी बिल्कुल निराश भएका छैनौं । विभिन्न प्रकारका प्रयोग र अभियानहरू चलाएर पार्टी अघि बढ्न सक्छ भनेर बरु हामी नयाँ नयाँ बहसहरू गरिरहेका छौं ।
जुन अपेक्षा गरेर नयाँ शक्ति निर्माण गर्नुभएको थियो । अपेक्षा अनुसार अघि बढ्न असफल हुनु भएको त हो नि हगि ?
–पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अघि बढाउने भनेका थियौं, तर कहीँ न कहीँ कमीकमजोरी देखिएकाले समीक्षा गरेर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । एउटा चुनाव हामीले फेस गरेका छौं । लगत्तै हामीले अर्को चुनाव फेस गर्नुपर्ने छ । भर्खरै स्थापना भएको पार्टीले एकैपटक तीनवटा चुनाव फेस गर्न अप्ठ्यारो छ । यसबारे पार्टीमा गम्भीर छलफल गरेर निचोड निकाल्छौं ।
तर, तपाईंहरूले माओवादीलगायत परिवर्तनकारी शक्तिहरूसंग एकता र सहकार्यका लागि गरेको आग्रहलाई धेरैले थकानको रुपमा विश्लेषण गरेका छन् नि ?
–अब कसरी अघि बढ्ने भन्नेबारे हामी प्रष्ट छौं । हामीमा कुनै लघुताभास र अन्योलता छैन । खासगरी नेपालमा यथास्थितिवाद र प्रतिगमनवादविरुद्ध नेपाली जनताले धेरै संघर्षहरू गरेका छन्, यो दिनको घाम जत्तिकै छर्लंग तथ्य हो । संघर्षहरूकै बलमा नेपालमा राजनीतिक परिवर्तनहरू भएको कुरा अब भनिराख्नु पर्दैन । विगतमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता मुद्दा स्थापित गराउन धेरै व्यक्ति र समूहहरूले साथ दिएकाले तिनीहरू एक भएर अघि बढ्न पर्छ भन्ने विचार हामीले सार्वजनिक गरेका हौं । अग्रगमनकारी शक्तिसंग संयुक्त मोर्चा, कार्यगत एकता र पार्टी एकीकरणसम्म गएर मात्र जनताले गरेका संघर्षको उपलब्धि रक्षा गर्न सकिन्छ भन्ने हाम्रो ठम्याइ हो ।
बहस छेड्यौ भनेर त भन्नु भयो तर, यसमा सिंगो पार्टी पंक्तिभन्दा पनि तपाईंको एउटा समूह मात्रै देखिन्छ नि ?
–होइन, यो बहसमा सिंगो नयाँ शक्ति पार्टी नै छ । होला कसरी र कुन रुपमा गर्ने भन्नेबारेमा हामीमा मतैक्यता नहोला, धारणा फरक–फरक बनेको होला, तर परिवर्तनकारी शक्तिबीच कहीँ न कहीँ तालमेल हुनुपर्छ भन्नेबारे हाम्रो पार्टीमा एकमत छ, कुनै विवाद छैन ।
तर, तपाईंहरूले यस्तो विचार केही दिनअघि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेसंगै पार्टीले यसप्रति कडा आपत्ति जनाएको छ । यो विरोधाभाषलाई आम जनताले कसरी बुझ्ने ?
–हामीले पार्टीमा पहिलेदेखि नै यो बहस उठाउँदै आइरहेका थियौं र छौं । पक्षधरता स्पष्ट गर्नका लागि पनि यस्तो बहस उठाउन जरुरी थियो । संसारभरका उत्पीडित राष्ट्र र जनताको पक्ष र संवृद्ध समाजको पक्षमा हामी भएकाले यो बहस उठाएका हौं । असल नियतका साथ उठाइएको बहसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ ।
माओवादी शक्तिहरूसंग अलि बढी झुकाब राखेकाले नयाँ शक्तिमा विवाद बढ्यो भन्ने कुरा बाहिर आएको छ नि ?
–जनयुद्धकालीन शक्ति पनि एउटा पक्ष हो । योबाहेक अरु शक्तिहरू पनि छन्, यो देशमा । संघीय समाजवादी फोरम, जनजाति, र परिवर्तनमा सहभागी मधेसी दल । तर, यी सबै दलहरू एक हुन छाडेर आ–आफ्नै डम्फु बजाइरहेका छन् । परिवर्तनकारी शक्ति गोलबद्ध भएर अघि नबढ्दा परिवर्तन विरोधीहरूको देशमा रजगज बढेको छ । यही स्थितिलाई मध्यनजर गर्दै हामीले यी सबै दल मिले एउटै पार्टी भएर, नभए कार्यगत एकता गरेर अघि बढ्नु पर्छ भनेका हौं ।
माओवादीसंग हातेमालो गर्ने कुरा चाहिं कहाँ पुग्यो त ?
–हामी अहिले पनि कसरी अघि बढ्ने भन्नेबारे छलफलमा नै छौं । छलफल जारी रहेकाले यसबारे कुनै टुंगो लागिसकेको छैन । पार्टी विशेषसंग मात्रै नभएर परिवर्तनकारी शक्तिसंग वृहत् ध्रुवीकरण गरेर अघि बढ्नु पर्छ भन्नेमा हाम्रो जोड छ ।
बजारमा त तपाईंहरू नयाँ शक्ति छाडेर माओवादीमा जाँदै हुनुहुन्छ, लाइन मिलाउनका लागि मात्रै ध्रुवीकरणको कुरा गरिरहनु भएको छ भनेर विश्लेषण भइरहेका छन् नि ?
–भूपि शेरचनले भनेका छन्–यो हल्लै हल्लाको देश हो । अनावश्यक हल्लाहरू चलेको देख्दा लाग्छ–भूपिको विश्लेषण सही थियो । अहिले हाम्रा बारे गरिएको हल्ला पनि त्यस्तै हल्ला हो, अनुमानको आधारमा कसले के भने म त्यसमाथि टिप्पणी गर्न चाहन्नँ । बाबुराम, प्रचण्ड, किरणका साथसाथै संघीय समाजवादीका उपेन्द्र यादवलगायत नेताले परिवर्तनका लागि लडे । हामीले यी शक्तिहरूबीच कहीँ न कहीँ ध्रवीकरण हुनुपर्छ भनेर उठाएका छौं ।
उसो भए माओवादीमा तपाईंलगायत नेता फर्किन लागेको भन्ने कुरा सत्य होइन ?
–यतिबेला हामीले कुनै पार्टी विशेषमा फर्किने कुरा गरिरहेकै छैनौं । हामी त वृहत् ध्रुवीकरण गरेर परिवर्तनकारी शक्तिहरू अघि बढ्नु पर्छ भनिरहेका छौं । कांग्रेस–एमाले जस्तै परिवर्तनकारीहरू पनि अलग खम्बाकारुपमा रहनु पर्छ भन्ने कुरामा जोड दिइरहेका छौं ।
तपाईंहरूले यसो भनिरहँदा पार्टीभित्रैबाट तपाईंहरूको आलोचना भइरहेको छ । यस्तो बेला कसरी अघि बढ्नु हुन्छ ?
–नकारात्मक मात्रै होइन, सकारात्मक प्रतिक्रियाहरू पनि हाम्रो पार्टीभित्रबाट आइरहेका छन् । हामी नकारात्मकतालाई भन्दा सकारात्मकतालाई अँगालेर अघि बढ्न चाहन्छौं । आन्दोलनमा भाग नलिएका, स्वामित्व लिन नचाहेकाहरूबाट यस्तो टिप्पणी हुनु त स्वभाविक हो, तर हिजो आन्दोलनमा लागेकाबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । यसमै हामीलाई सन्तोष छ ।
तपाईंहरूले जुन बहस चलाइरहनु भएको छ, यसलाई पार्टीभित्रै छलफल गरेर बाहिर ल्याएको भए त पार्टीभित्रबाट विरोध हुँदैनथ्यो कि ?
–एउटा जीवन्त पार्टीमा वैचारिक बहस चलिरहन्छन् । पार्टी र आन्दोलनलाई कसरी गतिशील बनाउने भन्ने छलफलले मात्रै अघि बढ्न सकिने भएकाले हामीले यस्तो छलफल उठाएका छौं । सबैको हितका लागि बहस सञ्चालन गरेको हुनाले यसलाई सबैले सहज र सहर्ष रुपमा लिनुपर्छ । देश र जनताको हितका लागि उठाएको कुरालाई अन्यथा भन्न मिल्दैन ।
पार्टीको हालै सकिएको केन्द्रीय स्तरको बैठकमा यी विषयहरू किन उठाउनु भएन त ?
–हामीले यो विषय बकाइदा पार्टीभित्र उठाएका छौं, छलफल गरेका छौं । थुप्रै साथीहरूले लेखेर, बोलेर यो विषयमाथि बहस छेड्ने काम गर्नु भएको छ । कसले भन्यो–हामीले यसबारेमा पार्टीमा छलफल र बहस गरेनौं भनेर ?
तर, नयाँ शक्तिले हिजो एउटा विज्ञप्ति जारी गरेर भूमिगत शैली अपनाएर कसैको इशारामा नेताहरूबाट पत्रकार सम्मेलन गरियो, यो पार्टीनीति विपरीत भयो भनेको छ नि ?
–नयाँ शक्ति त हामी पनि नयाँ शक्ति हो । ६१ सदस्यीय केन्द्रीय कमिटस्मा हामी पनि छौं । केही साथीले भन्नु भयो होला । विज्ञप्तिमा भनिएजस्तो बैठकमा कुरा नै राखिएन भन्ने कुरा गलत हो ।
तर, पाटीद्वारा जारी विज्ञप्तिमा त तपाईंहरू स्थानीय तह निर्वाचनले आत्तिएको, हतोत्तसाहित बनेको र अरुको इशारामा चलेको आरोप लगाइएको छ नि त ?
–जनताले मत कम दिए, त्यसमा हामीले समीक्षा गरेका छौं । अब जहाँसम्म कसैको इशारामा चलेको भन्ने कुरा छ, यो वाहियात हो ।
नयाँ शक्तिले पार्टी हितविपरीत पत्रकार सम्मेलन गरेको भन्दै तपाईंलगायत १४ जना नेतालाई स्पष्टीकरण सोधेको छ । यसमाथि तपाईंको प्रतिक्रिया के छ ?
–पार्टीको विधान म र केही कानून बुझेका साथीहरूले बनाएका हौं । विधानको मर्म र मूल्य मान्यताको हामीलाई राम्रो जानकारी छ । अब हामी पद्धतिमा टेकेर नै यो विषयलाई सेल्फ ल्यान्डिङ गर्छौं ।
तपाईंले असल नियतका साथ बहस छेडेको भनेर दाबी गर्नु भयो । तर, बाबुराम भट्टराईलगायत नेताले यसमाथि एकपछि अर्को नकारात्मक टिप्पणी गर्नुको कारण के होला ?
–माओवादी पार्टी छाडेर बाबुराम एक्लै निस्कनु भएको सबैलाई थाहा छ । उहाँ हामी सबैलाई छाडेर एक्लै निस्कनु भयो, तर छाडेर हिंड्दा पनि हामी उहाँलाई एक्लै छाड्न हुँदैन, सहयोग गर्नुपर्छ भनेर सहयोग गर्न नयाँ शक्तिमा आयौं । थुप्रै साथी एउटा सपनासहित उहाँको पछि लाग्नु भएको छ । मेरो व्यक्तिगत सोचबारे भन्नु हुन्छ भने म अझै पनि बाबुरामजीलाई पार्टी निर्माणका निम्ति कुनै पनि सहयोग गर्न तयार छु । जहाँसम्म बाबुरामजीलगायत नेताले हामीले चलाएको बहसलाई किन यतिधेरै नकारात्मक टिप्पणी गरिरहनु भएको छ भन्ने सवाल छ, त्यो त मलाईभन्दा पनि उहाँहरूलाई नै गएर सोध्नुपर्ला
बाबुरामलगायतलाई अघि नसारीकन तपाईंहरूले बहस अघि बढाउनु भएकाले शंका उत्पन्न गराएको पो हो कि ?
–उहाँको व्यक्तित्व र हाइट हाम्रोभन्दा विशिष्ट भएकाले हामीले उहाँलाई पहलकदमी लिएर अघि बढ्न भनिरहेका छौं । उहाँले पनि यसबारेमा सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ ।
हिजोआज पनि कुरा भइरहेको छ कि बोलचाल बन्द भयो ?
–कुरा भइरहेको छ । उहाँले हामीले उठाएका कुरामा गम्भीर भएको छु भन्नु भएको छ ।
त्यसो भए अब देवेन्द्र पौडेललगायत नयाँ शक्तिका नेता माओवादी केन्द्रमा फर्किंदै छन् भन्ने भ्रमबाट सबै मुक्त भए भयो होइन ?
–हामीले कहीँ कतै पनि पार्टी प्रवेशको कुरा उठाएका छैनौं । हामीले त परिवर्तनकारी शक्तिबीच धु्रवीकरण हुनपर्छ भन्ने कुरा मात्रै उठाएका हौं । अलग्गै समूह लिएर यताबाट तत्कालै अर्को पार्टीमा जाने सम्भावना छैन । यसमा हामीमाथि कुनै शंका नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु ।
माओवादीसँग नयाँ शक्तिको एकता हुने सम्भावना चाहिं छ कि छैन ?
–माओवादीहरूसंग हाम्रो पार्टी नयाँ शक्तिको एकता हुने सम्भावना छँदै छैन भन्ने छैन । हामीले माओवादीसंग एकता हुन सक्दैन भनेर न हिजो भनेका थियौं न आज भनिरहेका छौं । मात्रै सवाल के मात्रै हो भने उहाँहरूको आफ्नै शैली छ । पहिले त्यो शैली बदलिनु पर्छ । शैली बदल्ने, नाम र झन्डा परिवर्तन गर्ने हो भने माओवादीसंग एकता हुन सक्छ । प्रचण्डले केही समयदेखि केन्द्रीय कमिटी भंग गर्ने कुरा गर्नु भएको छ । यदि केन्द्रीय कमिटी भंग गरेर माओवादी आयो भने एकताबारे छलफल हुनसक्छ । अन्यथा यही अवस्थामा माओवादी केन्द्रसंग एकता हुँदैन, हामी त्यत्तिकै जानेवाला पनि छैनौ. ।
माओवादीबारे तपाईंको मात्रै यस्तो धारणा हो कि बाबुरामलगायत अरु नेताहरूको पनि ?
–बाबुरामजी पनि यो कुरामा पोजेटिभ नै हुनुहुन्छ ।



