काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त जिल्ला÷नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा पुग्न उद्योगी नेताहरूले दाऊ कस्न थालेको खबर छ । रिक्त पदपूर्ति हुने भएपछि त्यसलाई पोल्टामा पार्न झन्डै आधा दर्जन उद्योगी–ब्यवसायी नेताहरू दौडमा निस्केको चर्चा उद्योगी व्यवसायीहरूबीच चल्न थालेको छ । महासंघको जिल्ला÷नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय तह निर्वाचन उम्मेदवार बनेको आरोपमा उनको पद खारेजीमा परेको हो । खारेजीमा परेको यो पद केही महिनादेखि रिक्त छ । रिक्त पदपूर्तिका लागि २०७४ भदौ १९ गते निर्वाचन हुँदैछ ।
निर्वाचन मिति नजिकिएसंगै उम्मेदवारहरू विस्तारै खुल्न थालेका छन् । उपाध्यक्षमा रहर गर्नेहरूमा अधिकांश विगतमा निर्वाचन हारेकाहरू पनि छन् । रोचक त के छ भने जिल्ला÷नगर उद्योग वाणिज्य संघको रिक्त उपाध्यक्षमा पुग्न महासंघको वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानले समेत रहर गरेको चर्चा छ । वरिष्ठ उपाध्यक्षमा चुनाव लडेका प्रधानले नै यो पदमा पुग्न लोभ गरेपछि गाईजात्रे शैली देखाएको भन्दै उद्योगी÷व्यवसायीहरूका साथै महासंघभित्रै उनको आलोचना भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा पराजित भएका प्रधानले महासंघ नेतृत्वमा जान आफ्नो उचाईको समेत हेक्का नराखेको टिप्पणी बढ्दै गएकाले त्यसको असर निर्वाचनमा पर्न सक्ने विश्लेषण हुन थालेको छ । प्रधानलाई पूर्व अध्यक्ष तथा महासंघका महारथी चण्डीराज ढकालले सिग्नल नदिए उनी मैदानमा आउने छैनन् ।
प्रधान जस्तै विगतमा चुनाव लडेर हारेका र हाल सातवटै प्रदेशका संयोजक रहेका दिनेश श्रेष्ठ पनि ‘यस पटक पनि चुनावमा भिड्नु प¥यो भन्दै लोभ प्रदर्शन गर्दैछन्’ भन्ने चर्चा छ । यद्यपि, उनको पक्षमा माहोल बन्ने सम्भावना कमजोर छ । केही समयअघि भएको निर्वाचनमा श्रेष्ठ पराजित भएकाले पनि उनको पक्षमा माहोल तात्न नसक्ने विश्लेषण महासंघका एक जानकारले साँघुलाई सुनाए ।
चर्चामा रहेका उद्योगी वरिष्ठ नेताहरूमध्ये डीबी बस्नेतलाई बलिया दाबेदारको रुपमा हेर्न थालिएको छ । झन्डै डेढ दशकदेखि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा रहेर योगदान पु¥याएकाले उनको पक्षमा अन्य उम्मेदवारभन्दा बढी अंक पर्ने अनुमान छ । महासंघका पूर्व अध्यक्षहरू पाँच÷पाँच जनासंग नजिक रहेर काम गरेकाले उनको अनुभवलाई उद्योगी व्यवसायीले क्यास गर्न सफल हुने कतिपयको बुझाइ छ ।
डीबीले रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी र सुरज वैद्यको टिममा कार्यकारिणी सदस्यमा रहेर काम गरिसकेका छन् । साना तथा मझौला व्यवसायी तथा जिल्ला तहमा भिजेको उद्योगी नेता महासंघमा नभएकाले पनि उनको पल्लाभारी हुने सम्भावना छ । बस्नेतले महासंघ अन्तर्गतका समितिहरू जस्तैः घरेलु तथा साना उद्योगको सभापति, एक गाउँ एक उत्पादनको सभापति, स्थानीय आर्थिक विकासको सहसभापति, एक जिल्ला एक उत्पादनको पहिलो सभापतिको रुपमा जिल्ला तहमा काम गरिसकेका छन् । एक जिल्ला एक उत्पादनको त उनी परिकल्पनाकार समेत हुन् ।
लामो समयदेखि चण्डीराज ढकाल समूहमा रहेर नेपाल उद्योग वाणिज्य महासंघमा योगदान पु¥याएका बस्नेतले चण्डीको साथ सहयोग पाए महासंघले पनि सन्तुलन कायम गर्न सक्ने मिलनसार र अनुभवी व्यक्ति पाउने छ । बस्नेत उपाध्यक्षका लागि योग्य र क्षमतावान भएकाले पनि उनको पल्लाभारी हुने अनुमान गरिएको छ ।
उद्योगी–व्यवसायीहरूको मतलाई अपमान गरेर म्याग्दीको बेनी नगरपालिका मेयर उम्मेदवार बनेका प्रमोद श्रेष्ठले फेरि तिनै व्यवसायी–उद्योगीको मत माग्दै हात पसार्न थालेको चर्चा पनि छ । अन्य उद्योगीहरूमा निरक केसी, कृष्ण शर्माले पनि रिक्त पदमा दावी गरेपछि महासंघको भदौ १९ गते हुने चुनाव निकै रोचक–घोचक हुने लख काट्न थालिएको छ । यद्यपि, यो चुनावमा पूर्वअध्यक्षहरू विशिष्ट सदस्यहरूलगायतको भूमिकाले पनि हार जितलाई प्रभावित बनाउने छ । विशेष गरेर महासंघका महारथी मानिएका पूर्वअध्यक्ष चण्डीराज ढकालको रोजाईमा कुन उम्मेदवार पर्ने हो त्यसले निर्वाचनको परिणामलाई निर्धारण गर्ने चर्चा महासंघतिर छ ।




