• शनिबार-बैशाख-८-२०८१

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

चितवन।भरतपुर अस्पतालले आजदेखि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकटबापतको शुल्क नलिने निर्णय गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले लिँदै आएको रु ३० शुल्क आजदेखि नलिने निर्णय गरेको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।

 

यसबाट बिरामी प्रत्यक्ष लाभान्वित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “टिकटका लागि पालो कुर्नुपर्ने समस्याको केही हदसम्म समाधान हुन्छ ।” पछिल्ला वर्षहरुमा अस्पतालले बिरामीको उपचारमा सहयोग हुने गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आएको उहाँ बताउनुहुन्छ ।

 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले महिला र बीमामार्फत आउनेहरुलाई यसअघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।”

 

पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाइ छ । अस्पतालमा दैनिक एक हजार ५०० हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । चितवनसहित २१ भन्दा बढी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गर्दछन् ।

 

यो सङ्घीय अस्पताल हो । सङ्घीय अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क गरिएको पहिलो हो । अस्पतालले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस