काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयको कमाण्ड फितलो भएको गुनासो बाहिर आएको छ । २०७८ असोज २२ गते मन्त्री शशी श्रेष्ठले उक्त मन्त्रालयको वागडोर सम्हालेकी थिइन । उनले मन्त्रालयको वागडोर सम्हालेयता मन्त्री श्रेष्ठभन्दा पनि कर्मचारी बढी शक्तिशाली भएको गुनासाहरु बढेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा मीनभवनमा रहेको नापी विभागलाई लिन सकिन्छ । साँढे तीन वर्षदेखि विभागको नेतृत्व महानिर्देशक प्रकाश जोशीले गरिरहेका छन् । सरकार परिवर्तन भएसँगै मन्त्रालयका सचिव र विभागीय प्रमुखको सरुवा हुने गरेको छ ।
यस्ता धेरै उदाहरण पनि छन् । आठ महिना अगाडि मन्त्री श्रेष्ठको प्रवेश मन्त्रालयमा भएको केही महिनापछि नै सचिव परिवर्तन गरिएको थियो । साथै मालपोत तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक शेषनारायण पौडेललाई हटाएर सहसचिव पीताम्वर घिमिरेलाई पठाइएको थियो । तर, के कारणले हो नापी विभागको नेतृत्व भने परिवर्तन हुन सकिरहेको छैन ।
सरकार परिवर्तन भएसँगै मन्त्रालयका सचिव र विभागका महानिर्देशक परिवर्तन गर्न मन्त्रीहरुको तछाडमछाड चल्छ । तर पनि नापी विभागका डीजी जोशीको हकमा भने मन्त्रीले त्यो नियम लागू गराउन चासो दिएकी छैनन् । मन्त्रालयका सचिव परिवर्तन गर्ने तर महानिर्देशक जोशीलाई मन्त्री श्रेष्ठले निरन्तरता दिइरहनुलाई भने रहस्यकै रुपमा हेरिएको छ । मन्त्री श्रेष्ठका आकाँक्षा र माग जोशीले संवोधन गरेकै कारण निरन्तरता पाएको अड्कलबाजी भइरहेका छन । बजेट र कामका हिसावले पनि विभाग आकर्षक मानिन्छ । जोशी आफू मात्र विभागमा लामो समय बसेका होइनन्, उनले केही जिल्लाका नापी प्रमुख र आफू अनुकूलका कर्मचारीलाई पनि निरन्तरता दिएर शुभलाभ हात पारिरहेको कर्मचारीहरुको आरोप छ ।
तर, यति लामो समय विभागको नेतृत्व गर्ने अवसर प्राप्त गरेपनि जोशीले खासै उल्लेख गर्न लायक काम भने गर्न नसकेको बताइएको छ । मन्त्रीलाई रिझाउने अनि आफू लाभान्वित हुने काम मात्र भएको आरोप स्वयं कर्मचारीहरुले नै लगाउँदै आएका छन । विभागको नेतृत्व परिवर्तन नगर्ने र नयाँलाई अवसर प्रदान नगरेको भन्दै विभाग र मन्त्रालयका कर्मचारीहरु मन्त्री श्रेष्ठको व्यवहारप्रति खासै सन्तुष्ट छैनन् । मन्त्रीको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि प्रकट गर्ने गरेका छन् ।
कंचनपुर जिल्लाको महेन्द्रनगर निवासी महानिर्देशक जोशी हाल ललितपुरको इमाडोलमा बसोवास गर्दै आएका छन् । उनी चार वर्ष अगाडि सहसचिवमा बढुवा भएका थिए ।
सहसचिव हुनु अगाडि भू–उपयोग आयोजना र ६ नम्वर नापी गोश्वरामा रहेर काम गर्दा राम्रै आम्दानी गरेको कर्मचारी स्रोत बताउँछ । सुदूरपश्चिमेली भएको कारण उनलाई प्रधानमन्त्री निवास बालुवाटारको पनि विशेष आशीर्वाद रहेकोले पनि उनी सरुवा हुनु नपरेको स्रोतको भनाइ रहेको छ । सरुवाको विषय अगाडि जोशीले आउनासाथ नापतौल तथा गुणस्तर विभागका तत्कालीन महानिर्देशक विश्वबाबु पुडासैनी र औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायण ढकालको उदाहरण पेश गर्ने गरेका छन् । शुभलाभको हिसावले राम्रो मानिने विभागमा पुडासैनी लामो समयसम्म विभागको महानिर्देशक भएर नयाँ रेकर्ड कायम गरेका थिए ।



