गोरखाका ११ वटा स्थानीय तहमध्ये ९ वटा जिताएको भनेर माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको वाहीवाही भइरहेको छ । २०७४ को चुनावमा २ वटा स्थानीय तह जितेको माओवादीले अहिले ९ वटा जित्नु आफैमा आश्चार्य लाग्दो परिणाम थियो । गोरखामा वाहीवाही कमाइरहेका श्रेष्ठले आफ्नो टीमभित्रै नेताबाट पनि धोका पाएका छन् । श्रेष्ठ निकट नेता गिरिराजमणि पोखरेलका कारण माओवादीले जित्नै पर्ने क्षेत्रमा चुनाव हारेको भन्दै आलोचना हुन थालेको छ ।
महोत्तरीको गौशाला, वर्दिवास, सर्लाहीको लालबन्दी, बरहथवालगायतका पालिकामा माओवादी पराजित हुनुपरेको भन्दै आलोचना हुन थालेको छ । नेता पोखरेलले आफ्नो क्षेत्रका पालिकाहरु जिताउनभन्दा पनि हराउनकै लागि भूमिका खेलेको भन्दै माओवादीभित्र अर्को पक्षले आरोप लगाउन थालेको छ ।
माअोवादीक नेता मातृका यादव पक्षले पोखरेलको समूहका कारण चुनाव हारेको भन्दै आलोचना गर्न थालेका हुन् । उम्मेदवारहरु छनौट गर्दा पुरानालाई नै दोहोर्याएको र अन्तर्घात गरेको भन्दै यादव पक्षले पार्टीभित्र फेरि चर्को आवाज उठाउन थालेका छन् ।
माओवादीको प्रभाव रहेको बर्दिवासमा कांग्रेसका वागी उम्मेदवारले जितेका छन् भने लालबन्दीमा नेकपा एससँग मिलेको माओवादी कांग्रेससँग पराजित भएको छ । त्यसैगरी, वरहथवामा पनि एमालेसँग पराजित भएको छ ।
आफ्नो प्रभाव रहेको पालिकासमेत पराजित हुनुपरेको यादव पक्षले प्रश्न उठाइरहेका बेला उनीहरुको प्रभाव रहेकौ रौतहट, बारामा माओवादीले एउटामात्रै पालिका जितेर चित्त बुझाउनुपरेको छ । यादव समूहका कारण पर्सामा त्यही हालत भएको छ ।
अघिल्लो चोटी ३ वटा पालिका जितेको पर्सामा अहिले एउटा पनि आउन सकेन । बरु पहिला एउटा पनि पालिका जित्न नसकेको एमालेले अहिले ४ वटा पालिका जितेको छ । धनुषा, सिरहा पनि त्यही हालत भएको छ । पहिला ५ वटा पालिका जितेको सिरहामा अहिले एउटामात्रै जितेको छ ।
सिरहाका पालिकामा भने बागी पनि उठेका थिए । माओवादीका मधेशी नेताहरुको झगडाका कारण ती बागी उम्मेदवार उठेका थिए । उनीहरुलाई सम्झाएर पार्टीलाई जिताउन लाग्ने भन्दा पनि पूठ दिने काम भएको भन्दै एक मधेशी नेताले मातृका यादव र गिरिराजमणि पोखरेलको आलोचना गरेका छन् ।
यी दुई नेताले माओवादीका मधेश इञ्चार्ज गणेश साहको अस्तित्व पनि स्वीकार गरेका छैनन् । त्यसले गर्दा एकले अर्को पक्षलाई हराउने खेल भइरहेको भन्दैका माओवादीले फेरि झगडामा उत्रिन थालेका छन् । अघिल्लोपटक २१ वटा पालिका जितेको माओवादीले अहिले १० वटा पालिका पनि पु्रयाउन सकेको छैन ।



